विप्लवले कारबाही गरेका कार्की सत्तारुढ नेकपामा प्रवेश
काठमाडौं, पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीमा परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् ।शनिबार सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा कार्कीले पार्टी प्रवेश गरेका हुन् ।
उनलाई पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले टिका लगाएर पार्टीमा प्रबेश गराएका हुन् ।
कार्कीलाई तत्कालीन समयमा हिरासतमा रहेका बेला पार्टीको निती विपरित आत्मसमर्पण गरेको भन्दै विप्लव नेतृत्वको नेकपाको स्थायी समिति बैठकले केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको थियो । कारबाही पछि जिम्मेवारी विहीन बनेका कार्की आज सत्तारुढ नेकपामा प्रवेश गरेका हुन् ।
कार्कीलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘भोली स्वयम विप्लप पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन । अरुलाई पनि फाइदा गर्दैन् । मलाई भरोसा छ एक दिन उहाँपनि यसैगरी आउने ठाउँमा पुग्छ ।
अरु साथीहरु पनि आउँछन् जो अहिले पनि सानोसानो चुलो चौकी राखेर बसिराख्नुभएको छ । त्यसबाट केही हुँदैन भनेर त बुझ्नुभएको छ होला । सबैलाई देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका बारेमा किनकी समाजवादतिर जाने भन्ने कुरामा कम्युनिष्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको अवस्था छ ।’
अध्यक्ष प्रचण्डले बाँकी रहेकासबैलाई अफ्ठ्यारो नमानी आउन अपिल गर्नुभयो । गरिहाले, हिँडिहाले भनेर आफैलाई अनि देशलाई हानी पु¥याउने काम नगरि छिटो पार्टीमा आउन उहाँले सबैलाई आग्रह गरे । ‘अफ्ठ्यारो नमानिकन गरिहाले हिँडिहाले भनेर आफैलाई अनि देशलाई हानी पु¥याउने काम नगरीकन छिटो जोडिन् आउन अपिल गर्न चाहन्छु’, प्रचण्डले भने ।
पार्टी प्रवेशपछि कार्कीले विप्लवको राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेर पार्टी छाडेको बताए । ‘सहजै विप्लव छोडेर आउने पक्षमा म थिएन् । तर विप्लवको त्यो राजनीतिक साहस, नैतिकता र इमानदारिता देख्न सकिन् । हिरासतपछि मेरो एकान्त बास भयो । मलाई भेटने कोही मान्छेपछि आएन्’, उनले भने, ‘वार्तामा आउ आफ्ना कुरा राखौँ भन्दा मान्ने अवस्था भएन् । आफूले गरेका कुरा र कामहरुको ओनरसिप लिन सक्ने अवस्था नदेखेपछि विप्लव छोडे ।’
पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।