ओमानका सुल्तान काबूस बिन सैद अलीको निधन

काठमाडौं,ओमानका सुल्तान (राजा) काबूस बिन सैद अलीको निधन भएको छ। उनको ७९ वर्षको उमेरमा निधन भएको हो ।

क्यान्सरबाट पीडित सुल्तान काबूस गत महिना बेल्जियममा उपचार गराएर स्वदेश फर्किएका थिए । सुल्तान काबूसको शुक्रबार बेलुका निधन भएको सरकारी सञ्चारमाध्यमले शनिबार बिहानै जानकारी दिएको हो ।

काबूसले बेलायतको सहयोगमा सन् १९७० मा रक्तबिहीन ‘कू’ मार्फत आफ्ना पितालाई अपदस्थ गरेर शासन सम्हालेका थिए । अविवाहित उनका अहिले उत्तराधिकारी छैनन् ।

अब ओमानी राजपरिवारका झण्डै ५० पुरुष सदस्यहरुमध्येबाट राजपरिवार काउन्सिलले एकजनालाई भावी सुल्तानका रुपमा चयन गर्नेछ । यो प्रक्रिया तीन दिनभित्र पूरा हुने जनाइएको छ ।