जानकी गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न, ९ वटा संशोधन प्रस्ताव पारित
नेपालगन्ज,बाँके, जानकी गाउँपालिका बाँकेको सातौं विशेष गाउँसभा बिहीवार सम्पन्न भएको छ । विभिन्न ९ वटा संशोधन प्रस्तावहरु सर्वसहमतिमा पारित गर्दै गाउँपालिकाको बिशेष गाउँसभा गाउँपालिकाकाे कार्यलय खजुराखुर्दमा सम्पन्न भएको हो ।
गाउँसभामा बोल्दै अध्यक्ष रामनिवास यादवले नेपाल सरकारको सुखी नेपाल समृद्ध नेपाल र प्रदेश सरकारको सुखी जनता, समृद्ध प्रदेशको मूल नारालाई आत्मसाथ गर्दै गाउँपालिकावासीको सुखी र समृद्धिका लागि विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्दै आएको बताए ।
संघ र प्रदेशको नीति तथा योजना, वार्षिक बजेटको उद्धेश्य तथा लक्ष्य र नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्त गर्ने प्रतिवद्धता जाहेर गरे । अध्यक्ष निवासले गाउँपालिकामा ४ दशमलव ८ किलोमिटर पीसीसी सडक निर्माण, १२ किलोमिटर ग्राभेल, ५ दशमलव ५ किलोमिटर नयाँ निर्माण, २ सय मिटर कालोपत्रे, ४ वटा कल्भर्ट, १ दशमलव ५ किलोमिटर नाला, ३ नयाँ विद्यालय भवन निर्माण र गाउँपालिकाको सभाहल निर्माण लगायतका कार्यहरु सम्पन्न भईसकेको जानकारी दिए ।
त्यस्तै सभामा गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले विभिन्न ९ वटा संशोधन प्रस्तावहरु पेश गरेकी थिइन । गाउँपालिका वडा नं। १ साईगाउँमा सञ्चालन हुने स्मार्ट बाख्रापालन कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको ५० लाखको योजनामा २० प्रतिशत गाउँपालिकाको सहभागितामा व्यहोर्ने उपाध्यक्ष धितालले बताइन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्य र समन्वयले जानकी गाउँपालिकामा विकास निर्माणको कार्यले गति लिएको बताए ।
गाउँपालिका भित्रका विभिन्न पूर्वाधार निर्माण आयोजनाहरुको डिपिआर।÷आईई गर्नको लागि ७५ लाख आल्या शिर्षकबाट विनियोजन गर्ने, राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएका कार्यक्रम गाउँपालिकाबाट व्यहोर्ने गरी सञ्चालन गर्ने प्रस्ताव पेश भएको थियो ।