हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

डडेल्धुरा ,हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। अवरुद्ध भएको करिब १० घण्टापछि भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो।

बुधबार रातिदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो।

डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हगुल्टे लेकमा रहेको हिउँ हटाइएपछि बिहीबार मध्यान्नदेखि एकतर्फीरूपमा यातायात सञ्चालनमा आएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए। ‘ भीमदत्त राजमाग एकतर्फी रूपमा सुचारु भएको छ।

अनारखोली क्षेत्रमा हिमपात जारी नै रहेकोले बाटो खुलाउने कार्य जारी छ’ उनले भने। हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा बिहीबार बिहान २ बजेदेखि अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतिर लागिरहेका छन्। डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भीमदत्त राजमार्गमा बिहीबार बिहानैदेखि यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।