सहकारीले वैदेशिक रोजगारीलाई कम गर्नुपर्छः मन्त्री अर्याल

ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन् ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई विहीबार ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताइन् ।

उनले राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागु गरेर जानुपर्ने बताइन् ।सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्मशिलता भएको बताइन् ।

सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्मशिलतामा जान सम्भव हुने उनको भनाइ थियो । त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनको विश्वास छ ।

राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्नका निम्ती पनि सहकारीले भूमिका खेल्नुपर्ने बताइन् ।ती गरिबी निवारणका कार्य स्थानीय तहबाट गर्नुपर्ने मन्त्री अर्यालको भनाई छ । स्थानीय स्तरमा आफ्नो ठाउँको पहिचान गरेर गरिबी निबारणका कार्यक्रम गर्न समेत मन्त्री अर्यालले सहकारीलाई आग्रह गरिन् ।