योजनामै सीमित मैतीदेवीको धर्मशाला
काठमाडौं, महानगरपालिकाले गत वर्ष ०७५/०७६ मा वृद्धवृद्धा, भक्तजन राख्न मैतीदेवी मन्दिरसँगै मैतीदेवी धर्मशाला बनाउने योजना ल्यायो। यसका लागि ५० लाख बजेट विनियोजन गर्यो। महानगरपालिकाले धर्मशाला बनाउने योजना ल्याएपछि स्थानीयसमेत हर्षित भए।
तर, अहिलेसम्म पनि महानगरले धर्मशाला बनाउने योजना कार्यान्वयनमा ल्याउन सकेको छैन। महानगरले विभिन्न संरचना बनाउने योजना ल्याए पनि कार्यान्वयनमा ल्याउन नसकेको भन्दै मैतीदेवीका स्थानीयले आलोचना गर्दै आएका छन्।
मैतीदेवीका स्थानीय राम श्रेष्ठ भन्छन्, ‘महानगरपालिकाले धर्मशाला बनाउने भनेर योजना ल्याएको सुनेको तीन वर्ष बितिसक्यो। निर्माण गर्ने कुनै छाटकाट छैन।’ महानगरपालिकाले यस्ता योजना ल्याए पनि कार्यान्वयन नगरी अलपत्र पार्दे आएको उनको आरोप छ।
‘महानगरपालिकाले समाजिक सेवाका लागि धेरै योजनाहरू ल्याएको छ’, उनले भने, ‘योजना घोषणा गरेपछि कार्यान्वयनमै ल्याउन सक्दैन। यसरी धेरै योजनाहरू अलपत्र पार्दै आएको छ। बजेट मात्रै सकाउने काम गर्छन्।’ धर्मशाला बनेमा वृद्धवृद्धालाई सेवा सुविधा पुग्ने बताउँदै उनले तत्काल योजना कार्यान्वयनमा ल्याउनुपर्ने बताए। श्रेष्ठले भने, ‘सडकमा बालबालिका, बृद्धाबृद्ध छन्।
धर्मशाला बनेमा उनीहरू बस्न पाउँथे। मैतीदेवी मन्दिरमा आउने आन्तरिक वा बाह्य भक्तजन पनि बस्न पाउने थियो।’ उक्त धर्मशाला बनाउने ठाउँ काठमाडौं महानगरपालिका वडा ३० मा पर्दछ। स्थानीयको अवरोधले ढिलाई भयो : वडा अध्यक्ष कार्की महानगरपालिका ३० वडाका अध्यक्ष दलबहादुर कार्कीले धर्मशाला निर्माणमा स्थानीयले अवरोध गर्दा ढिलाई भएको बताए।
‘धर्मशाला बनाउने महानगरले योजना ल्याएको थियो’ कार्कीले भने,‘निर्माण गर्ने बेलामा कोही स्थानीयले अवरोध गर्दा काम अगाडी बढाउँन सकिएन।’ धर्मशाला निर्माणका लागि महानगरपालिकाको योजना शाखामा डिजाइन पठाइसकेको बताए। उनले भने, ‘धर्मशाला बनाउने योजना यस वर्षको कार्यक्रममा पनि राखेका छौँ।
धर्मशाला निर्माणका लागि डिजाइन गर्न महानगरमा पठाइसकेका छौँ। डिजाइन बनिसकेपछि स्थानीय र गुठियारसँग छलफल गरी छिट्टै काम थाल्छौँ।’ उनका अनुसार सबै डिजाइन भइसकेपछि मात्रै धर्मशालाको स्वरूप कस्तो बन्नेबारे जानकारी हुने छ। करिब दुई कित्ता जग्गामा धर्मशाला बन्ने छ।
धर्मशाला निर्माण गरी सकेपछि बृद्धबृद्धा, भक्तजनहरू बस्न पाउने छन्। उक्त धर्मशाला निर्माणमा करिब सात करोड लाग्ने उनको अनुमान छ। धर्मशाला निर्माणकै लागि ०७६/०७७ को कार्यक्रमबाट नगरपालिकाले उक्त वडालाई एक करोड बजेट उपलब्ध गराएको छ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पनि धर्मशाला निर्माणका लागि पहल गरिरहेका जानकारी दिए। उनले भने, ‘धर्मशाला बनाउने योजनामा हामी पछि हट्दैनौँ। डिजाइन सकेपछि निर्माण कार्यलाई अगाडि बढाउन पहल गर्छौं।’