लम्बियो कांग्रेसमा असन्तुष्ट सभापतिहरूको भेला
काठमाडाैँ,सभापति शेरबहादुर देउवासँग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पक्षका जिल्ला सभापतिहरूसँग राखेकाे परामर्श बैठक लम्बिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार सुरु भएको परामर्श बैठकमा जिल्ला सभापतिहरूले बोल्नेक्रम नसकिएको हुँदा लम्बिएको हो ।
बैठकमा सभापति, केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेको हुँदा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी सकिएको सहभागी धादिङ जिल्ला सभापति रमेश धमलालले जानकारी दिए । ‘बैठक भोलि दिउँसो १ बजे बस्नेगरी सकिएको छ,’ उनले भने, ‘सभापतिहरूको बोल्नेक्रम सकिएको छैन । आज १४ जनाले धाराणा राख्नुभयोे ।’
सोमबार उपस्थित नभएका केन्द्रीय सदस्य शेखर कोइराला र पूर्वमहामन्त्री कृष्ण सिटौला पनि मंगलबार बैठकमा उपस्थित भएको बताउँदै सभापति धमलाले उनीहरूले पार्टीलाई लोकतान्त्रिक विधिबाट अगाडि बढाउनुपर्ने धारणा राखेको बताए ।
‘पार्टी सभापतिको निर्णयले पार्टीलाई गन्तव्यमा पु-याउँदैन । लोकतान्त्रिक गतिविधिबाट अगाडि बढाउनुपर्छ । विधि पद्धतिबाटै अगाडि बढ्नुपर्छ’ सिटौलाको भनाइ उदृत गर्दे धमलाले भने । नयाँपत्रिकाबाट

