अब उपत्यकाभित्रका प्रहरी प्रमुख जवानको क्वार्टरमा सुत्नैपर्ने
काठमाडाैँ,महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मातहतका प्रहरी कार्यालय प्रमुख साताको एक दिन अनिवार्य रूपमा जवानको ब्यारेकमा सुत्नुपर्ने नियम ल्याएको छ । यस्तै, कार्यालय प्रमुखले साताको एक दिन जवानको मेसमा खाना पनि खानुपर्ने व्यवस्था गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका अनुसार जवान र कार्यालयमा कार्यरत उच्च तहका प्रहरी अधिकृतबीचको सम्बन्ध प्रगाढ बनाउन यस्तो नियम ल्याइएको हो । कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार यो नियम मातहतका कार्यालयमा सोमबारबाटै लागू भएको छ ।
नियम कार्यान्वयन भए/नभएको अनुगमन गर्न कार्यालयले एसपीको नेतृत्वमा ६ सदस्यीय अनुगमन टोली पनि गठन गरेको छ । टोली कार्यालय प्रमुख डिआइजी विश्वराज पोखरेलको प्रत्यक्ष कमान्डमा परिचालन हुनेछ । कसैले नियम उल्लंघन गरे तत्काल कारबाही गर्ने कार्यालयको योजना छ ।
यसबाहेक आर्थिक अनियमिता गरे/नगरेको, नागरिकको समस्या समाधान भए/नभएको, प्रहरी जनताप्रति उत्तरदायी भए/नभएको पनि टोलीले निरीक्षण गर्नेछ । निरीक्षणपछि टोलीले डिआइजी पोखरेलसमक्ष प्रतिवेदन पेस गर्नेछ । अनुगमन टोलीलाई ‘कार्य सम्पादन मूल्यांकन टोली’ नाम दिइएको एसएसपी ज्ञवालीले जानकारी दिए ।