सभामुखको नाम पुस २७ मै टुंगो लगाउँछौंः शर्मा

काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुस २७ गतेभन्दा अघि नै सभामुखको नाम टुंगो लाग्ने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुंगो लगाउने बताएका हुन्। उनले भने,‘अहिलेपनि उपसभामुख हाम्रै पार्टीको सांसद हुनुहुन्छ।

हामीले सभामुखमा दाबी गरेपछि अब उहाँले राजीनामा दिनुहुन्छ। संविधानले पनि सभामुख र उपसभामुख भिन्न दल र भिन्न लिंगको हुनुपर्छ भनेको छ। त्यसैले सभामुख हामीले लिएपछि उपसभामुखले राजिनामा दिनुहुन्छ।’ नेता शर्माले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जिकिर गरे।

उनले भने,‘हामी पुस २७ गतेभित्रै यो सबै कुराको टुंगो लगाउँछौं। जो भए पनि नेकपाकै हुनुहुन्छ।’उपसभामुख प्रतिपक्षी दललाई दिने पनि उनले जनाए। उनले भने,‘अहिले यसबारेमा छलफल हुँदैछ।

हामी सहमतिअनुसारनै अघि बढ्छौं।’ नेता शर्माले नेकपामा अब पूर्व एमाले वा पूर्व माओवादी केन्द्र कोही पनि नभएको जिकिर गरे। उनले भने, ‘पूर्व एमाले वा पूर्व माओवादी केन्द्र भन्ने कुरा मेरो दिमागमा छैन। मैले त पूर्व भन्ने कुरा डिलिट नै गरिसकें। यदि कोही नेताहरूसँग यो कुरा छ भने तपाइँहरूले पनि डिलिट गर्नुहोस्।’

शर्माले पार्टीभित्र सभामुख कसलाई बनाउने भन्नेबारे व्यक्तिकेन्द्रित छलफल नभएको स्पष्ट पारे। उनले भने,‘नेकपाबाट सभामुख कसलाई बनाउने भन्नेबारे हाम्रा अध्यक्षद्वयबीच छलफल भइरहेको छ। उहाँहरूले दुई तीन मिनेटमै टुंगो लगाउने भन्नुभएको छ। उहाँहरूले जे निर्णय गर्नुहुन्छ।

त्यही हुन्छ। यसमा कुनै समस्या छैन।’ उनले अहिले प्रतिपक्षमा नेपाली कांग्रेसमात्रै नभएको जिकिर गरे। उनले भने,‘हामी सबैसँग छलफल गरिरहेका छौं। एउटा निष्कर्षमा पुग्छौं।’ तर सभामुख चयन प्रक्रियामा समय लाग्नु गलत भएको उनको दुःखेसो छ। सभामुख चयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै चासो नराखेको पनि उनले स्पष्ट पारे। उनले नेताहरूले राष्ट्रपतिलाई भेट्नुलाई आफूले नौलो रुपमा नलिएको पनि जिकिर गरे।

उनले भने,‘सरकारले पनि राष्ट्रपतिलाई ब्रिफ गर्छ। आवश्यक परे उहाँले पनि सरसल्लाह गर्नुहुन्छ। सभामुख चयनमा उहाँले कुनै चासो राख्नु भएको छैन। यो संसदको चासोको विषय हो। अब सभामुख चयन प्रक्रिया लम्बिँदैन। यसमा राष्ट्रपतिलाई सरोकार छैन।’

शर्माले प्रदेश २ को सरकार गिराउने वा ढाल्ने पक्षमा आफूहरू नरहेको पनि जिकिर गरे। उनले भने,‘हाम्रो पार्टीले त्यस्तो केही सोचेको छैन।’ एमसिसी पारित हुने उनले विश्वास दिलाए। उनले भने,‘हामी छलफल गरेर यसलाई सहमतिमै पारित गर्छौं। तर, एमसिसीमा रहेका राष्ट्रिय अहितका विषय सच्याउँछौं।’

कार्यक्रममा राजपा नेपालका बरिष्ठ नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरूको कुनै दाबी नरहेको स्पष्ट पारेका छन्। उनले भने, ‘सभामुख वा उपसभामुखमा हाम्रो पार्टीको दाबी छैन। किनकि हाम्रो सामर्थ्य छैन। यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौं।

तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौं।’ प्रदेश २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाइएको भन्दै कर्णले गुनासो पोखे। उनले भने,‘नेकपा र राजपाबीच दुई बुँदे सहमति भएपछि २ नम्बर प्रदेशको सरकार परिवर्तनबारे अनुमानका आधारमा धेरै समाचार आए। तर, नेकपा र राजपाबीचको दुईबुँदे समझदारीमा यस सम्बन्धमा केही कुरा पनि उल्लेख छैन।

यो सहमतिमा हामीले राष्ट्रियसभाको लागि हुने निर्वाचनका लागि २ सिटमा तालमेल गरेका हौं। सिट बाँडफाँड मात्रै हो।’ प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बोलेका विषयमा टिप्पणी गर्दै कर्णले भने,‘जितेन्द्र सोनल मात्र होइन। म त भन्छु प्रदेशसभा सदस्य सबै मुख्य मन्त्रीको लागि योग्य हुनुहुन्छ।

उहाँको अपेक्षा गलत होइन।’ उनले प्रदेश २ मा सरकार फेरबदल नहुने जिकिर गरे। उनले भने,‘राष्ट्रियसभा सदस्यको लागि माघ ९ गते निर्वाचन हुँदैछ। चुनाव सकिएलगत्तै थप सहकार्यको बारेमा छलफल हुन्छ। नेकपा विदेशी पार्टी होइन। यो पनि यही देशको पार्टी हो। हामी अहिले पनि साथमै छौं। हामीबीच सहकार्य बढ्दै जान्छ।’