रेसुंगाका किसानलाई बजारको छैन चिन्ता
गुल्मी,किसानले उप्पादन गरेका कृषि उपजलाई रेसुङगा नगरपालिकाले सिधै खरिद गरिदिने गरेको छ।
बिचौलियाको मारमा किसानहरु पर्ने गरेको सन्दर्भमा किसानले सिधै वास्तविक मूल्य पाउनका लागि घरमै गएर किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई सिधै खरिद गरी ल्याउने गरेको रेसुङगा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए।
भुसालका अनुसार किसानले आफ्नो जग्गा जमिनमा उत्पादन गरेको कृषि जन्य वस्तुहरुलाई बिहान नगरपालिकाको गाडी गई कृषकको खेत बारीबाटै उठाइदिने र सिधै किसानलाई वास्तविक मूल्य दिने गरेको बताए।
किसानहरुले उत्पादन गरेका ताजा तरकारी, गिठ्ठा, तरुल, अमला, लप्सीलगायत लोकल कुखुराहरु समेत खरिद गरी नगरपालिकाले सञ्चालन गरेको हाटबजारबाट दैनिक रूपमा बिक्रीवितरण हुने गरेको बताए। नगरपालिका भित्रका किसानहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि किसानहरुलाई तालिम, कृषिका औजारहरु र अनुदानको समेत ब्यबस्था गर्दै आएको भुसालले दाबी गरे।
किसानले उत्पादन गरेका तरकारीहरूलाई बजारको समस्या भयो र बजार पाइएन भनेर चिन्ता लिने अबस्थाको अन्त्य भएको भन्दै भुसालले जतिसको धेरै उत्पादन गर्न कृषकलाई आग्रहसमेत गरे। कुल १ करोड ३३ लाख लगानीमा नगरपालिका आफैले तम्घासको चारीखोलामा हाट बजार संचालन गर्दै आएको छ।
नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमकाअनुसार हाटबजारमा अत्याधुनिक शीतभण्डारसहितको कृषि उपज संकलन भएकाले किसानले बास्तबिक मुल्य पाएको र उपभोक्ताहरुले ताजा तरकारी पाउने गरेको दाबी गरे। तम्घासमा चिसो बढेदै गएकाले लोकल कुखुराको माग धान्न नै समस्या भएको गौतमले बताए।
दिनमा करिब ३० देखि ५० किलोसम्मको लोकल कुखुराको माग भएको भन्दै लोकल कुखुराको मागअनुसार पूर्ति गर्न केही समस्या भएको बताए। लोकल कुखुरा ६५० रुपैयाँ जिउँदो प्रति किलो बिक्री हुँदै आएको नगरपालिकाले जनाएको छ।
कातिक १२ गते देखि नगरपालिकाद्वारा संचालित अत्याधुनिक शितभण्डारसहितको हाटबजारमा करिब १३ लाख बराबरको कारोवार भएको नगरपालिकाले जनाएको छ।
किसानहरुले उत्पादन गरेका कृषि उत्पादनहरूलाई घरमै गई नगरपालिकाले जोखेर उठाइदिने र घरमै नगद पैसा पाउँदा बिचौलीयाको मारमा पर्ने समस्याको अत्य भएको रेसुङगा नगरपालिका वडा नं १० सिमिचौरका कृषक बिनोद कुँवरले बताए।