दिल्लीस्थित जेएनयूमा नकाबधारी समूहको हिंसात्मक आक्रमण
नयाँदिल्ली, आइतबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा(जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित कम्तिमा १८ जना भन्दा बढि विद्यार्थीहरु घाइते भएका छन् ।
रुमालले अनुहार छोपेर विश्वविद्यालय परिसरमा छिरेका आक्रमणकारी अखिल भारतीय विद्यार्थी परिषद्(एबीभीपी) र राष्ट्रिय स्वयम सेवक संघ(आरएसएस) का कार्यकर्ता भएको जेएनयू विद्यार्थी संगठनले आरोप लगाएको छ।
झण्डै ५० जनाको समूहमा क्याम्पस परिसरमा छिरेको नकाबधारीको समूहले विभिन्न होस्टेलभित्रै गएर विद्यार्थी र शिक्षकमाथि आक्रमण गरेको थियो।
अहिले स्थिति प्रहरी नियन्त्रणमा छ । जेएनयूको मुख्य गेटमा उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ छन् । विद्यार्थीहरुले विश्वविद्यालय गेट बाहिर र दिल्ली प्रहरी मुख्यालय बाहिर विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयमा भएको हिंसाको विरोधमा मध्यरातमा मुम्बईको गेटवे अफ इण्डियामा पनि अन्य कलेजका विद्यार्थीहरु भेला भएर प्रदर्शन गरेका छन् ।
विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरीसमक्ष माग राखेको छ । गृहमन्त्री अमित शाहले पनि घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।
जनवरी १ तारिखदेखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएको थियो । त्यसपछि विद्यार्थीहरुको रजिष्ट्रेशनको काम भइरहेको थियो । रजिष्ट्रेशनको समर्थन र विरोध गर्ने विद्यार्थीहरुबीच मतभेद थियो ।
यही विषयलाई लिएर ५ जनवरीको दिन दिउँसो विद्यार्थीहरुबीच झडप भएको थियो । त्यसपछि साँझ नकाबधारी समूहले छात्राबासमा प्रवेश गरी आक्रमण गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।