हिमपातका कारण लुक्ला र फाप्लु हवाई सेवा ठप्प,
सोलुखुम्बु ,निरन्तर परेको हिमपातले अबरुद्ध ओखलढुंगा जन्तरधाप, सल्लेरी फाप्लु सडक खण्ड आंशिक रुपमा खुलेको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई संघीय तथा प्रदेश राजधानी जोड्ने उक्त सडक खण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुन: अबरुद्ध बनेको थियो।
शनिबार दिउँसो शिद्धिचरण नगरपालिका ओखलढुंगा र सोलुदुधकुण्ड नगरपालिकाको जेसिबीले सडक खुलाएका थिए। साँझ करिब ५ बजेतिर १५ वटा जति जीप ओहोर-दोहोर गरेपछि पुन: हिमपात हुँदा अबरुद्ध बनेको ट्राफिक प्रहरी नारायनबहादुर बस्नेतले जानकारी दिए।
आइतबार बिहानैदेखि सोलुदुधकुण्ड नगरपालिकाको जेसिबीले सडकको हिउँ पन्छाएर सडक खुलाएको प्रहरीले जनाएको छ। सडकमा आइस जमेका कारण चिप्लो हुने भएकाले सावधानी अपनाउँनुपर्ने सोलुखुम्बुका प्रहरी निरिक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले बताए।
आइतबार दिउँसो आंशिक रुपमा सडक खुलेको भए पनि सावधानी भने अपनाउनुपर्ने उनको भनाई छ। हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बनेको छ। चिसोबाट बिशेष गरी बुढाबुढी, केटाकेटी र पशुपन्छी प्रभावित बनेका छन्।
अत्याधिक हिउँकै कारण वस्तुलाई आवश्यक घाँस समेत संकलन गर्न नसकिएको नाम्चेका लामाकाजी शेर्पाले बताए। यस्ता समयमा मौसमी रोगको सम्भावना उच्च हुने भएकाले न्यानो गरी बस्न तथा झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन्।
हवाई सेवा ठप्प हिमपातसँगै मौसम प्रतिकूल हुँदा हवाई सेवा समेत अबरुद्ध बनेको छ। जिल्लाको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा आइतबार कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयान प्राधिकरण फाप्लुले जनाएको छ।
आज बिहान सवा ९ बजे काठमाडौं फाप्लुको उडान तालिका भएको नेपाल एयरलाइन्सको बिमान पत्ताले क्षेत्र पार गर्न नसक्दा पुन: काठमाडौैं नै फर्केको नागरिक उड्डायन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए। हवाई सेवा अबरुद्ध हुँदा जिल्ला अस्पताल फाप्लुमा उपचार संभव नभएपछि काठमाडौं लैजाने बिरामीलाई समस्या भएको बताइएको छ।
टेलिफोन सेवा अवरुद्ध सोलुखुम्बुको खुम्बु क्षेत्रमा बिहीबारबाट निरन्तर परेको हिमपातका कारण टेलिफोन सेवा अबरुद्ध बनेको छ। नेपाल टेलिकमको लेण्डलाइन, सिडिएम ए र नमस्ते फोन सेवा अबरुद्ध बनेको हो। लुक्ला, चौँरीखर्क, नाम्चेमा विहीबार देखि परेको हिउँ अझै नरोकिएको लुक्लाका स्थानीय तोया श्रेष्ठले जानकारी दिए।
यता नेपाल टेलिकम ओखलढुंगाका इन्जिनियर राम सरोज यादबले हिमपात बढी भएकाले ब्याकप पावरले काम नगर्दा समस्या आएको बताए। मौसम नखुलेकोले तत्काल समसया समाधान गर्न नसक्ने उनको भनाई छ।