राष्ट्रिय सभाकाका लागि कर्णाली प्रदेशमा नेकपा र कांग्रेसको उम्मेदवारी

बिरेन्देनगर, सुर्खेत राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आइतबार मनोनयन दर्ता गरेका हुन् ।

शर्मा भेरी नगरपालिका ११ जाजरकोट तथा बिसी वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी हुन् । शर्माको मनोनयन दर्ता प्रस्तावकमा करवीर शाही र समर्थकमा ठम्मर विष्ट तथा बिसीको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य देवी वली र समर्थकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारी रहेका छन ।

त्यस्तै नेपाली कांग्रेसबाट डिल्लीराम पाठक र गणेशकुमारी बस्नेतले मनोनयन दर्ता गराएका छन । पाठकको मनोनयन दर्ता प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा र समर्थकमा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्र थापा रहेका छन् ।

बस्नेतको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसी र समर्थकमा गुर्भाकोट नगरपालिका सुर्खेतका प्रमुख हस्तबहादुर पुन रहेको निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

३३ प्रदेश सभा सदस्य तथा ७९ मा ५३ स्थानीय तह जितेको नेकपा जीत सुनिश्चित हुनेमा ढुक्क छ । १९८ मतदाता रहेको कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेका छन् । चुनावमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र कर्णाली प्रदेश सभाका सदस्यहरूले मतदान गर्नेछन् ।