राष्ट्रियसभा सदस्यमा दाजुभाइबीच प्रतिस्पर्धा

काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि एकै परिवारका दाजुभाइ चुनावी प्रतिस्पर्धामा देखिएका छन्। आगामी माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दुई फरक पार्टीबाट सहोदर दाजुभाइ प्रदेश २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन्।

सप्तरीको एकै परिवारका दुई दाजुभाई मध्ये एक राष्ट्रिय जनता पार्टी (राजपा) बाट र एकले समाजवादी पार्टीबाट चुनाव लड्दैछन्। सप्तरीको बोदेवसाइन नगरपालिकाका अनिरुद्र सिंह यादव राजपाबाट र अनिरुद्रका भाई मृगेन्द्र सिंह समाजवादी पार्टीबाट उम्मेदवार बनेर आइतबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गराउँदै छन्।

यसअघि पनि यी दाजुभाई फरक–फरक राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिसकेका छन्। तर, दुवै भाई पराजित भएका थिए। २०७० सालको संविधानसभाको चुनावमा दाई अनिरुद्र तत्कालीन मधेसी जनाधिकार फोरमबाट र भाई मृगेन्द्र तत्कालीन मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट चुनावी प्रतिस्पर्धामा थिए।

तर, त्यो बेला दुवै पराजित भए। उनीहरु चुनाव लडेको क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए। अहिले समाजवादीबाट उम्मेदवार बनेका मृगेन्द्र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर-४ बाट उम्मेदवार बनेका थिए। त्यसबेला पनि उनी कांग्रेसका तेजुलाल चौधरीसँग पराजित भएका थिए।

प्रदेश २ मा राष्ट्रियसभा सदस्यको निर्वाचनमा समाजवादीले नेपाली कांग्रेससँग र राजपाले सत्तारुढ दल नेकपासँग चुनावी तालमेल गरेका छन्।