कांग्रेसले लगायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं, नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंगो लगाएको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको हो । कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले बताए । बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

शुक्रबार कांग्रेस सभापित शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा चुनावको ४ पदमा मिलेर अघिबढ्ने सहमति भएको थियो । प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि यसअघि नै चुनावी तालमेल गरिसकेका छन् । नेकपाले शुक्रवार नै राष्ट्रिय सभाका लागि उम्मेदवार चयन गरिसकेको छ ।

यी हुन् कांग्रेसका उम्मेदवारहरु

प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक अपाङ्गता

प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

सिट गुमाउँदै कांग्रेस

राष्ट्रियसभाको निर्वाचनमा यसपटक सत्तारुढ दल नेकपालाई फाइदा पुग्ने भएको छ । राष्ट्रिय सभाको माग ९ मा हुने चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । चुनावमा यसअघि जितेको सिट मध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने भएका हुन् ।

नेकपा र राजपाबीच सहमति भएसँगै प्रदेश दुई बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २/२ सिट बाँडफाँट गरेका छन् । यससँगै राजपाले यसअघिको आफ्नो दुई सिट जोगाउने भएको छ । कांग्रेस र समाजवादीले प्रदेश दुईमा सहमति गरेपनि त्यसले नेकपा राजपा गठवन्धनलाई खासै असर पर्ने देखिएको छैन ।

यसअघि प्रदेश २ बाट छानिएकामध्ये राजपाका दुईजना र कांग्रेस/समाजवादीका १/१ सीटमा यसपालि नेकपा र राजपाले २/२ सीट लिने गरी प्रदेश २ का लागि गठबन्धन गरेका हुन् ।

राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि रिक्त हुने स्थानका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।