आजबाट मौसममा सुधार हुने पूर्वानुमान
पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिवार साँझबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधवार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको प्रणाली शनिवार उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले बताए ।
ADVERTISEMENT
आज (शनिवार) मध्याह्नसम्म देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ,’ मौसमविद् मानन्धरले भने । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाएको छ ।
राति देशको मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने साथै मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू–भागमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ADVERTISEMENT
आइतवार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । सोमवार देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका १/२ स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ० डिग्री र अधिकतम तापक्रम ९ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।
शनिवार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।