सेवाग्राहीसँग डेढ लाख घुससहित खरिदार पक्राउ

धनगढी,भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार डेढ लाख घुससहित रंगेहात पक्राउ परेकी छन्। खरिदार ललिता रोकायालाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले रंगेहत पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ।

जग्गा पास गर्ने क्रममा डेढ लाख रकम घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका प्रवक्ता टोपवहादुर विष्टले बताए।

सेवाग्राहीबाट घुस लिने गरेको भन्ने गुनासो आएपछि रोकायामाथि एक महिना अघिदेखि अनुसन्धान गरेकोमा मंगलबार रंगेहात पक्राउ गरिएको प्रवक्ता विष्टले बताए। रोकायालाई थप अनुसन्धानका लागि बुधबार अनुसन्धान विभाग काठमाडाैँ पठाइने उनले बताए।