शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश गरेको भन्दै सतर्क रहन महाशाखाको सुझाव
काठमाडौं,केही दिन उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको बताइएकाे छ। जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको महाशाखाकाले बताएकाे छ ।
महाशाखाका अनुसार यो प्रणाली सोमबार बेलुका नेपाल प्रवेश गरेको हो। पश्चिमबाट भित्रिने यो पश्चिमी न्यून चापीय प्रणालीको हल्काफुल्का प्रभाव रातिदेखि नै सुरु भइसकेको बताइएकाे छ ।
महाशाखाका अनुसार यस प्रणालीका कारण आज (मंगलबार) नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।
बुधबार देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना छ। उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशभर बदली भई तापक्रममा गिरावट आई देशैभर चिसो बढ्ने समेत बताइएकाे छ ।
माैसमविद्का अुनसार वर्षा याममा पूर्वी र हिउँद याममा पश्चिमी वायु चल्छ। यस हिसाबले अहिले हिउँदको समयमा पश्चिमी वायु जहिले चलिरहेको हुन्छ। खासमा भित्रिने भनेको चाहिँ यस वायुबाट विकास हुने पश्चिमी न्यून चापीय प्रणाली हो।
अहिले भारतबाट नेपाल प्रवेश गरेको पनि न्यून चापीय प्रणाली नै हो। तर बोलीचालीमा सर्वसाधारणले बुझ्ने भाषामा पश्चिमी वायु नै भन्ने चलन भएकाले यसो भनिएको मौसमविदको भनाइ छ।
तराईमा दुई दिन घाम लाग्ने, जाडो घट्ने
हुस्सु/कुहिरोका कारण केही दिनदेखि घामको मुखसमेत देख्न नपाएका तराईवासीले भने याे माैसमी प्रणालीबाट केही राहत पाउने भएका छन्। मौसमविद मञ्जु बासीका अनुसार न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुने भएकाले दुई दिन मंगलबार र बुधबार तराई क्षेत्रमा हुस्सु/कुहिरो हट्ने भएको हो।
‘आजै बिहानदेखि तराई क्षेत्रमा हुस्सु ह्वात्तै घटिसक्यो,’ उनले भनिन्, ‘भोलि पनि तराईमा हुस्सु/कुहिरो खासै लाग्दैन, आज र भोलि तराईमा घाम लाग्ने देखिन्छ।’
यसले लगातार हुस्सु/कुहिरोको कारण चिसो बढेर कष्टकर जीवन बिताइरहेका तराईवासीलाई यो दुई दिन केही राहत हुने उनले बताइन्। ‘तर बुधबार साँझदेखि भने यो प्रणाली सशक्त भई हिमपात र वर्षा सुरु हुने भएकाले देशभर चिसो बढेसँगै फेरि तराईमा पनि जाडो बढ्छ,’ उनले भनिन्।