आज गुरुङ समुदायको ‘तमुल्होसार’ पर्व धुमधामका साथ मनाइदै
काठमाडाैं, गुरुङ समुदायको पर्व ‘तमुल्होसार’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन्।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ। तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङका अनुसार यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्ष सुरु भएकाे छ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन्। मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो। यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको समितिका महासचिव सूर्यबहादुर गुरुङले जानकारी दिए।
जसका कारण आइतबारदेखि नै टुँडिखेलमा गुरुङ समुदायको रमझम छ। तमुल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन्। जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ। मंगलबार अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने आयोजक समितिले जनाएको छ।
यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत व्यक्तित्वले पनि सम्बोधन गर्ने जनाइएको छ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन सुरु गरिएको विश्वास गरिन्छ।
राष्ट्रपति र उपराष्ट्रपतिकाे शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको पर्व ‘तमुल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्। तमुल्होसारका अवसरमा आज दिएकाे शुभकामना सन्देशमा उनले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नसमेत गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेकी छन्।
गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अङ्गका रुपमा रहेको बताउँदै राष्ट्रपतिले सन्देशमा तमुल्होसारजस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख गरेकी छन्।
गुरुङ समुदायको यो पर्वले आपसी सद्भाव बढाई आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले सन्देशमा उल्लेख छ।
यसै उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले मनाउने तमूल्होसार पनि फराकिलो हुँदै आम नेपालीको पर्वका रुपमा स्थापित हुँदै गएको बताउँदै उपराष्ट्रपतिले सन्देशमा हाम्रा धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन योगदान गरेको उल्लेख गरे।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै राष्ट्रको समुन्नति र समृद्धिमा लाग्न तमूल्होसारले सबैलाई प्रेरित गरोस् भन्ने कामना दिएका छन्।