के हुन सक्छ अबको किमको आक्रामक नीति ?

सिउल । उत्तर कोरियाका नेता किम जोङ उनले देशको सार्वभौमसत्ता र सुरक्षाको लागि सकारात्मक र आक्रामक रणनीतिका लागि आह्वान गरेका छन् । उनले आफ्नो पार्टीका नेताहरुलाई प्योङयाङमा सम्बोधन गर्दै सो कुरा बताएको सरकारी मिडियाले जनाएका छन् ।

मिसाइल परीक्षण र आणविक नीतिका सम्बन्धमा अमेरिकासँग तनावको वातावरण रहेकै बेलामा उत्तर कोरियाका नेताले पछिल्लो भनाइ राखेका हुन् । उत्तर कोरियाको लामो दूरीको मिसाइल परीक्षणका सम्बन्धमा अमेरिकाले आइतबार असन्तुष्टि जनाएको थियो । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार किमले पार्टीको बैठक शनिबार बोलाएकोमा सो बैठकको आइतबार सम्म अध्यक्षता गरेका थिए ।

उनले सो अवसरमा सम्बोधन गर्दै सकारात्मक र आक्रामक नीति लिनु जरुरी रहेको जनाएका थिए । तर, उनले भनेको आक्रामक शैली के हो भन्ने बारेमा भने खुलेको छैन । किमको भनाई अघि अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले उत्तर कोरियालाई जवाफ दिन अमेरिकासँग ‘आफ्नो टुल किटमा धेरै टुल्स रहेको’ बताएका थिए । (बीबीसी)