रारा तालमा मर्न थाले माछा

मुगु,रारा तालमा रहेका माछा धमाधम मर्न थालेका छन्। एक सातादेखि तालमा माछा मरेर तैरिन थालेको स्थानीयले बताएका छन्। तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको मुर्मा गाउँका बीर्खबहादुर रोकायाले बताए।

तालमा डुंगा सवार गराउँदा मरेका माछा भेटिने उनले बताए। मरेको माछा तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँस र कागलगायत चराले टिपेर खान थालेका छन्।

हिमपातले गर्दा वनजंगलको विषादीयुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुनसक्ने रारा राष्ट्रिय निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले बताउँछन्। यसबारे अनुसन्धान भइरहेको उनले बताए। करिब २ हजार ९२९ मिटर उचाइमा रहेको रारा तालमा असला माछा मरेको यो पहिलो घटना हो।