राप्तीपारिको हुलाकी सडकमा कालोपत्रे
बाँके, भारतीय जेभी कम्पनीले १० वर्षसम्म बनाउन नसकेको हुलाकी सडक तीव्र गतिमा निर्माण भइरहेको छ। नेपालगन्जबाट राप्तीपारी बघौडासम्मको ४४ किलोमिटर सडक मध्ये ३० किलोमिटर कालोपत्रे भइसकेको छ।
नेपालगन्जको पुष्पलाल चोकदेखि फत्तेपुरको झगडियासम्मको २२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। निर्माण कम्पनीले दुई कलस्टरमा विभाजन गरेर सडक निर्माण गरिरहेको छ। पहिलो कलस्टर अन्तरगत ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको हुलाकी सडक कार्यालय, नेपालगन्जले जनाएको छ।
कल्भर्टमा ग्याब्लिङ (जाली भर्ने) र सडकको वीच भागमा मार्किङ तथा ट्राफिक चिन्ह भएको साइन बोर्ड निर्माणको काममात्र बाँकी रहेको हुलाकी सडक कार्यालयका निमित्त प्रमुख इन्जिनियर रामसागर हरिजनले बताए। जग्गा विवादका कारण पहिलो कलस्टरमा ६ सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ।
जग्गा विवाद समाधान भइसकेकोले गर्मी सुरु हुनासाथ बाँकी रहेको ठाउँमा कालोपत्रे र मार्किङको काम सुरु हुने हुलाकी सडक निर्माण गरिरहेको गणपति कन्स्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले बताए। दोस्रो कलस्टर अन्तर्गत २२–४४ किलोमिटरमा ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको बताए।
दोस्रो कलस्टरमा पर्ने २२ किलोमिटर सडक मध्ये आठ किलोमिटर कालोपत्रे भइसकेको बताउँदै भण्डारीले पाँच किलोमिटर कालोपत्रेका लागि तयारी अवस्थामा रहेको बताए। ‘चिसोमा कालोपत्रे गर्न नमिल्ने भएकोले कालोपत्रेका लागि तयारी अवस्थामा छ’, भण्डारीले भने।
उनले बाँकी ९ किलोमिटरमा कालोपत्रेका लागि बेस निर्माणको काम तीव्र गतीमा भइरहेको बताए। कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेकोले फागुन मसान्तसम्म कालोपत्रेको काम सम्पन्न हुने उनले दावी गरे। ‘जाडोयामभर कलोपत्रेका लागि बेसको काम गर्ने र घाम लाग्नासाथ कालोपत्रे गर्नेगरि निर्माणको काम भइरहेको छ’, उनले भने।