गजुरेल र थापासहित वैद्य माओवादीका १५ नेता पक्राउ
काठमाडौं,मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रमुख सिपी गजुरेल सहित १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वमन्त्री समेत रहेका सिपी गजुरेल, परी थापा लगायत उक्ता मोर्चाका १५ जना नेता–कार्यकर्तालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
हनुमानथान हुँदै रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन अनुमति सहित सिंहदरबार जान खोज्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिपी गजुरेल, परी थापा, पवनमान श्रेष्ठ, दीपक शाही, सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, बसन्त बोगटी, हरिकृष्ण गजुरेल लगायत छन् । जुलुस सहित सिहदरबार जान खोजेका उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दा तीनजना घाइते समेत भएका छन् । घाइते हुनेमध्ये एकजना महिला छिन् ।
उनीहरुको ज्ञापनपत्र एमएमसी, लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत राष्ट्रियता सवालमा केन्द्रित थियो । माइतीघर मण्डलाबाट जुलुस सहित सिंहदरबार जाने क्रममा हनुमानथान नजिक पुगेपछि प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको थियो । अहिले तीनजना घाइतेलाई अस्पताल लगिएको छ भने अन्यलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

