चिसोका बिरामीले भरिए अस्पताल

काठमाडौं : हिउँदयामको मध्य अर्थात यतिखेर देशभर अत्याधिक चिसो बढेको छ। पश्चिमी वायुको सक्रियताका कारण बन्‍ने माैसमी प्रणालीका कारण देशका उच्च पहाडी भेगमा हिमपात तथा तराइ भेगमा शीतलहर शुरु भएको छ। नेपालमै सबैभन्दा बढी मानव बसाेबास रहेकाे काठमाडाैं उपत्यकामा आज बिहान यो बर्षकै कम अर्थात ०.५ डिग्री सेल्सियसमा झरेको छ। तापक्रम शुन्य बिन्दुतिर ओर्लन थालेपछि निकै चिसो महसुस भएको छ।

चिसो बढेको बेला दैनिक जनजीवनमा निकै असहज हुन्छ। कामकाजमा गाह्रो हुनुका साथै साथै स्वास्थ्यमा समेत प्रतिकूल र गम्भीर खालका समस्या देखिने गर्छ। चिकित्सकका अनुसार गर्मी मौसमभन्दा चिसो मौसममा धेरै प्रकारका शारीरिक समस्या देखिने गर्छ।

निमोनिया र रुघाखोकी त यो माैसममा सबैभन्दा बढी देखापर्ने स्वास्थ्यसमस्या हो। चिसोको संक्रमणका कारण मुख्यत: रुवाखोकी, ज्वरो, निमोनिया, छातीसम्बन्धी समस्या देखिने गर्छ। चिसो बढेपछि केही दिनयता काठमाडौंका अस्पतालमा बिरामीहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन्। चिसोका कारण स्वास्थ्यसमस्या देखिएपछि अस्पतालहरुमा बिरामीको चाप बढेको हो।

चिसोले सबैभन्दा धेरै असर बालबालिकामा पुर्‍याउने गर्छ। पछिल्ला केही दिनयता देशकै एकमात्र कान्ति बाल अस्पतालमा बिरामी बालबालिकाको चाप निकै बढेको छ। हाल अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा चिसोका कारण रुघाखोकी तथा कोल्ड-डायरीयाबाट पीडित करिब १० प्रतिशत बालबालिका आउने गरेको अस्पतालले जनाएको छ। चिसोकै कारण स्वास्थ्य समस्या निम्तिएपछि अस्पताल आएका ४–५ जनालाई हरेक दिन भर्ना नै गरेर राखिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार चिसो बढेसँगै हुने कोल्ड-डायरिया तथा अन्य संक्रमणबाट प्रभावित बिरामीहरुको चाप निकै बढेको छ. चिसोको कारण देखिने डायरियाको समस्या लिएर आउने बिरामी केही दिन यता निरन्तर ब९ेको अस्पतालका चिकित्सक डा. शेरबाहुर पुनले जानकारी दिए। उनले भने,‘हाम्रोमा केही दिन यता अन्य बिरामी भन्दा चिसोको कारण हुने डायरियाका बिरामी बढेका छन्।‘

उपत्यकामा रहेका अस्पतालमध्ये दैनिक धेरै बिरामीको चाप हुने शिक्षण अस्पतालमा पनि केही दिनयता चिसोको बिरामी उपचारका लागि आउने क्रम बढेको छ। छाती दुख्ने, रुघाखोकी, ज्वरो र निमोनियाजस्ता समस्या देखिएका बिरामीहरु बढेको अस्पतालले जनाएको छ। चिसो मौसममा रेस्पेटरी सिन्साइडियर भाइरस (आरएसभी) का कारण व्युंकोलाइटिस निमोनियाजस्ता संक्रमण हुने गर्छ।

व्युंकोलाइटिस भाइरसका कारण श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, खोकी लाग्ने हुन्छ। ३–४ दिनमा निको नभई सेकेन्डरी इन्फेक्सन देखिएमा यसले निमोनियाको रूप लिने चिकित्सकहरु बताउँछन्। चिसोका कारण यतिखेर रुघाखोकी, दम, घाँटी खस–खस गर्ने, भाइरल इन्सेफलाइटिस मस्तिष्कज्वर, निमोनिया, रोटाभाइरल, झाडापखाला, बान्ता हुने, टाउको दुख्ने, बेहोस हुने, पिनास र एलर्जीका बिरामी बढेका छन्।

चिसोबाट बढी प्रभावित हुनेमा वृद्धवृद्धा, दमका बिरामी, बिहानै काममा जाने समूह रहेको चिकित्सकहरु बताउँछन्। प्रत्येक वर्ष जाडोको सुरुवातसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढ्ने गर्छन्‌। रुघाखोकीलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा यसले श्वास–प्रश्वाससम्बन्धी विभिन्न जटिल स्वास्थ्यसमस्या निम्त्याउने भएकाले समयमै उपचार गर्न चिकित्सकहरुले सुझाएका छन्‌।

यसरी बच्न सकिन्छ चिसोबाट

चिसोबाट बच्न सके बिभिन्न खालका संक्रमणबाट पनि सजिलै बच्न सकिने चिकित्सकहरु बताउँछन्। यसका लागि बिहान–बेलुकीको चिसोमा सकभर बाहिर हिँडडुल नगर्ने, हिँडडुल गर्नैपरे शरीर पूरै छोपिने गरी न्यायो कपडा लगाएर निस्कने, तातोपानी प्रशस्त पिउने र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्छ।

मौसमी फलफूलहरु विशेष गरेर भिटामिन सीयुक्त फलफूल खाने र चिसो मौसममा श्वासप्रश्वाससम्बन्धी समस्याबाट जोगिन तुँवालो लागेका बेला माक्सको प्रयोग गर्ने, हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाले मोइस्चराइजर क्रिमको प्रयोग गर्दा पनि चिसोको प्रकोपबाट सुरक्षित हुन सकिन्छ।