कोइराला निवासबाट पौडेल समूहको चेतावनीः एकलौटी निर्णय मान्य छैन

काठमाडाैं,नेपाली कांग्रेसकाे असन्तुष्ट पक्षले केन्द्रीय समितिले गरेकाे निर्णयमा आपत्ति जनाएकाे छ । शनिबार महामन्त्री शशांक काेइराला निवास महाराजगञ्जमा बसेकाे वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहकाे बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेकाे निष्कर्ष निकालेकाे हाे ।

भेलापछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले एकलौटी रुपमा गरिएका सबै निर्णय खारेज गर्न माग गरे। उनले निर्ण खारेज नभए त्यसविरुद्ध पार्टीभित्र संघर्ष गर्ने चेतावनी समेत दिए। ‘एकलौटी रुपमा गरिएका सबै निर्णय खारेज गर्न म साभपति ज्युसँग आग्रह गर्दछु’, उनले भने, ‘निर्णय खारेज नभए त्यसका विरुद्ध लड्छौँ।’

बहुमतका नाममा पार्टीकाे विधि विधान उल्लंघन गरेर निर्णय आएकाे भन्दै उक्त निर्णय नमान्ने उनीहरूको धारणा छ । शुक्रबारको निर्णयले पार्टीलाई थप धरासयी बनाएको हुँदा देशभरका कांग्रेस कार्यकर्ता सचेत हुने बेला आएको बताए ।

उनले महासमिति बैठकपछि संशाेधन गरिएकाे पार्टी विधानकाे धज्जी उडाउने काम सभापति देउवाबाट भएकाे आराेप पनि लगाए । “१२ सय बढी महासमिति सदस्यहरूकाे बैठकपछि पार्टीकाे विधान संशाेधन भएकाे १ वर्ष पनि पुगेकाे छैन,” उनले थपे, “महाधिवेशनकाे कार्यतालिका सार्वजनिक गर्ने नाममा आफुखुशी विधानका दफा निलम्बन गरिएकाे छ ।”

पार्टी विधानकाे व्यवस्था निलम्बन गर्ने कुरा बहुमतबाट हुन नसक्ने भन्दै त्यसमा सहमति नखाेजिएकाेमा पनि आक्रोश पोखे । महामन्त्री शशांक काेइरालाले पार्टीभित्र एकतामा जाेड दिँदै बहुमतबाट गरिएकाे निर्णयले पार्टीलाई कमजाेर बनाउने बताए ।

सहमतिका लागि छलफल भइरहेकै बेला एक्कासी निर्णय भएकाे भन्दै काेइरालाले असन्तुष्टि व्यक्त गरे । “पार्टी सहमतिमा अघि बढ्नुपर्छ । मैले सँधै पार्टी एकताकाे पक्षमा बाेल्दै आएकाे छु,” उनले भने, “हिजाेकाे निर्णय राम्राे भएन । सभापतिले नै एकताका लागि बढी पहल गर्नुपर्छ ।”

पूर्वमहामन्त्री एवं वार्ता टाेलीका संयाेजक प्रकाशमान सिंहले सहमतिका पक्षमा आफुहरू हुँदाहुँदै पनि सभापति देउवा पक्षले बहुमतकाे दम्भ देखाएकाे बताए ।