बाँके–बर्दियालाई कर्णालीमा गाभ्न आन्दोलनको तयारी
नेपालगञ्ज,बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि आन्दोलन गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अग्रसरतामा बुधबार नेपालगञ्जमा राजनीतिक दलका नेता, संचारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागितामा आन्दोलन तयारीका लागि भेला गरिएको हाे ।
भेलाले आन्दोलनका लागि नेपालगञ्ज उप–महानगरपालिकामा सचिवालय रहने गरि १७ सदस्यीय समिति गठन गरेको नेकपाका नेता रत्न खत्रीले जानकारी दिए । प्रदेश ५ को अस्थायी राजधानी बुटवल भएपछि बाँकेमा कर्णाली प्रदेशमा गाभिनुपर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ ।
संविधान निर्माणका समयमा समेत सुर्खेतसँग मिसिनुपर्ने आवाज उठेपनि मधेस आन्दोलनका कारण चर्किन सकेको थिएन । पछिल्लो समय नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सार्वजनिक कार्यक्रममा नेपालगञ्जको विकासका लागि कर्णाली प्रदेशमा गाभिनुको विकल्प नभएको बताउँदै आएका थिए । नेपालगञ्जका उद्योगी ब्यवसायीहरु पनि आर्थिक हिसावले पनि नेपालगञ्ज कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा रहेका छन् ।
समितिले आन्दोलनको वातावारण तयार पार्नका लागि बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद लगायतसँग छलफल गर्ने, बर्दियासँग समन्वय गरि अघि बढ्ने सहमति गरेको छ ।