भोलि सूर्यग्रहणः यस्ता छन विशेषता
काठमाडौं, अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्यग्रहण भोलि विहीबार विहान लाग्दैछ । बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हाे । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ। बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ।
पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ। ग्रहण लाग्नुभन्दा चार प्रहर ९१२ घण्टा० अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उनले जानकारी दिए। ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ। नयाँ बर्ष २०२० लाई स्वागत गर्न अघि आम विश्ववासी अन्तिम खगोलीय घटनाको साक्षी बन्दैछन् । बर्ष २०१९ को यो तेस्रो सूर्यग्रहण भएपनि पूर्ण सूर्यग्रहणकोरुपमा भने यो बर्षकै पहिलो ग्रहण हो ।
सूर्यग्रहणको विशेषता
यसपटकको सूर्यग्रहण पूर्णत गोलाकार हुनेछ । सामान्तया सूर्यग्रहण सूर्य र पृथ्बीकोबीचमा चन्द्रमा परेको समयमा लाग्ने गर्छ । तर यस पटकको यो गोलाकार अर्थात औठीको जस्तो देखिन सूर्य ग्रहण लाग्दा चन्द्रमा पृथ्बीबाट धेरै टाढा हुनेछ । यस सूर्यग्रहणको विशेष पक्ष यो हो कि यो ग्रहण लाग्नु १२ घण्टा अगावै यस्को सूतककाल सुरु हुने छ । जो बिहीबारसम्म कायम रहने छ । अब आउने अर्को सूर्यग्रहण भने सन् २०२० को २१ जुनमा लाग्नेछ ।
सूर्यग्रहणको सूतक समय
शास्त्रमा उल्लेख भए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा अगावै सूतक आरम्भ हुन्छ । त्यसैले आज राति ८ बजेर ४२ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशील प्राणीहरुले भोजन गर्न नहुने शास्त्रीय मान्यता छ ।
ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमि खन्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्वपूर्ण कागजातहरुमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको हन्छ ।
यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु नहुने र यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्ने मान्यता पनि शास्त्रमा उल्लेख छ ।
सूर्यग्रहणकाल र देखिने देशहरु
बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका, मलेशियालगायत एसियाका अधिकांश देश, हिन्द महासागर, पूर्वी युरोप, उत्तररपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । पूर्णरुपमा नै अन्धकार झै हुने यस सूर्यग्रहण नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुने हुनाले ग्रहण अवधि २ घण्टा ४९ मिनेटको हुनेछ । यो ग्रहण सऊदी अरेबिया, कतार, ओमान, संयुक्त अरब इमिरेट्स युएइ, नेपाल, भारत, श्रीलंकाको उत्तरी क्षेत्र, मलेशिया, सिंगापुर, सुमात्रा एवं ब्रुनाई हुँदै मोक्ष हुनेछ ।
ग्रहण लाग्दा निषेध गरिएका कर्महरु
ग्रहणको बेला घरभित्रै बसेको उत्तम मानिन्छ । ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने भएकोले घर बाहिर ननिस्केको नै उत्तम हुने खगोल बैज्ञानिकहरुको सुझाव छ । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, दाँत माझ्न दूध दुहुन र सुत्न नहुने पनि शास्त्रीय मान्यता छ ।
१ यौन सम्बन्ध निषेध
ग्रहणकालमा मनलाई पवित्र राख्न सके राम्रो मानिन्छ । यो समयमा यौन सम्बन्ध राख्नुलाई शास्त्रीय मान्यता विपरीत भएको उल्लेख गरिएको छ । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षसी प्रवृतिको हुने विश्वास गरिन्छ ।
२ भोजन बर्जित
ग्रहणकाल भर भोजन गर्न हुँदैछ । ग्रहणकालको समाप्तिपछि मात्र भोजन गर्न भनेर शास्त्रले सुझाएको छ । ग्रहणकालमा खाना समेत पकाउन नहुने र कुनै खाना बाँकी रहेको छ भने ग्रहणकाल भर तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रीय मान्यता छ ।
३ पूजाआजा गर्न हुँदैन
ग्रहण समयमा पूजाआजा पनि गर्न हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्ने गरिन्छ । मन्दिरमा राखिएका या कुनै पनि स्थानमा राखिएका देवीदेवताको मूर्तीसमेत छुन नहुने मान्यता छ । ग्रहणकालमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा बताइएको छ । उच्चारण गर्न सकिने मन्त्रमा ऊँ नमः शिवाय, श्रीराम, सीताराम, ऊँ श्री रामदूताय नमः लगायत छन् ।
४ ग्रहणपछि घर र मन्दिरको सरसफाई
ग्रहणको मोक्षपछि घर र मन्दिरमा सरसफाई गर्नु अनिवार्य झै मानिएको छ । ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा समेत सफाइ गरेर देवीदेवतालाई चढाइएको जल फेर्नु पर्ने सुझाव शास्त्रमा दिइएको छ ।
५ गर्भवती महिला घर बाहिर निस्कन हुँदैन
गर्भवती महिला ग्रहणकाल भार घरबाट बाहिर निस्कनमा पूर्णत निषेध लगाइएको छ शास्त्रमा । ग्रहणको समयमा गर्भवती महिला घर बाहिर निस्कँदा गर्भमा रहेको बच्चामा खराब असर पर्ने सम्भावना अधिक भएको शास्त्रमा उल्लेख गरिएको छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरू उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्ने सम्भावना बढी हुन्छ ।
ग्रहणकालमा गर्न मिल्ने कार्यहरु
ग्रहणको समयमा नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुद्र आदिमा स्नान गर्ने र यथाशक्ति एवं भक्तिभावले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणी तथा असहाय प्राणीहरूलाई दान तथा खाना उपलब्ध गराउनु उचित मानिन्छ ।
यसकासाथै ग्रहणकालमा आफ्नो दीक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रमा उल्लेख छ ।
कुनै जातकको जन्म कुण्डलीमा सूर्यग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुने पनि शास्त्रमा बताइएको छ ।
यसका साथै धार्मिक गीत सङ्गीत सुन्ने तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु लाभदायक मानिन्छ ।