आज क्रिसमस डे, बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले इसाई धर्मावलम्बीका लागि सार्वजनिक विदा दिएको छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन् ।

क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।

नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको बताइन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा इसाई धर्मको इतिहास चार सय वर्षभन्दा पुरानो रहेको र अहिले नेपालमा १२ हजार ५ सय चर्च रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरुको महानपर्व ‘क्रिसमस डे’ का अवसरमा आज एक शुभकामना सन्देश दिदैै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख छ ।

‘क्रिसमस डे’ लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको पनि सन्देशमा उल्लेख छ । यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने पनि उनले कामना गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुले समेत शुभकामना व्यक्त गरेका छन्