पशु स्वास्थ्य शिविरबाट तीन सय कृषक लाभान्वित
म्याग्दी, बेनी,म्याग्दीको धवलागिरी गाउँपालिकामा सञ्चालित पशु स्वास्थ्य शिविरबाट करिब तीन सय घरधुरी कृषक लाभान्वित भएका छन् । बेनी गुड नेवर्स इन्टरनेशनलको आर्थिक, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बेनी र स्थानीय सहकारी संस्थासंगको साझेदारीमा संगम म्याग्दीले म्याग्दीको धवलागिरी गाउँपालिकामा पशु स्वास्थ्य शिविरबाट तीन सय घरधुरी कृषक लाभान्वित भएका हुन् ।
लमसुङ, मुदी र मराङमा एक÷एक दिनको पशु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । तीन वटै शिविरमा २८१ घरधुरी कृषकको पाँच हजार पशुपंक्षिको औषधि उपचार गरिएको संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाकी उद्यम विकास अधिकृत धनमाया किसानले जानकारी दिइन ।
लमसुङमा ६६ जना कृषकको एक हजार तीन सय, मुदीमा १३२ जना कृषकको दुई हजार ७०० र मराङमा ५८ जना कृषकको १०१० पशुपक्षिलाई औषधि उपचार सेवा दिएको समेत बताइन । ग्रामिण क्षेत्रका कृषकहरुलाई पशुपंक्षिको स्वास्थ्यप्रति सचेत बनाउने, परिक्षण तथा लक्षणको आधारमा रोग पहिचान, परामर्श र निशूल्क औषधि वितरण गरिएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कुशुम नेतृत्वको प्राबिधिकहरुको टोलीले शिविरमा सेवा दिएका थिए ।
कृषकहरुले रोगी, बिरामी पशुलाई उपचार गराउन शिविर सञ्चालन स्थलमा ल्याएका थिए । धेरै जसो कृषकले आफुले पालेका पशुपंक्षिमा देखिएको समस्याको लक्षणको आधारमा औषधी वितरण गरिएको थियो । स्वस्थ्य र गुणस्तरीय दूध तथा मासु उत्पादनका लागि पशुपंक्षिको स्वास्थ्यमा ध्यान दिनुपर्ने पशु चिकित्सक कुशुमले बताए ।