शंकास्पद गतिविधिमा संलग्न पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो

काठमाडौँ ,काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएका चिनियाँ नागरिकको संख्या १२२  पुगेको छ। नियन्त्रणमा लिएका शंकास्पद गतिविधिमा संलग्न चिनियाँको संख्या १२२  पुगेको हो ।

यो भन्दा अगाडि ९७ जना चिनियाँ नागरिकलाई काठमाडौंको मनमैंजु, बाँसबारी र बुढानिलकण्ठ लगायतका स्थानबाट नियन्त्रणमा लिएको बताइएकाे थियाे।

चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिएका चिनियाँ नागरिकमाथि काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखि अनुसन्धान सुरु भएको छ ।

पक्राउ परेकाहरुबाट करिब ४५० थान ल्यापटप तथा सयौं थान मोबाइल र सीमहरु पनि बरामद गरिएको छ। पक्राउ परेकाहरु समूहमा बसेर अवैध क्रियाकलापमा संलग्न हुने गरेको आशंका प्रहरी स्रोतको छ। उनीहरुलाई हाल काठमाडौं परिसर अन्तर्गतका विभिन्न वृत्तमा राखेर अनुसन्धान थालिएको छ।

पक्राउ परेका अधिकांश चिनियाँहरु पर्यटन भिसा लिएर नेपाल प्रवेश गरेको देखिएको छ। उनीहरु सबैको राहदानी जफत गरी थप अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ।