करिब १९ घण्टापछि गाउँपालिका अध्यक्ष अपहरणमुक्त

दैलेख, दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपरहणमुक्त भएका छन्। उनी शनिबार मध्यरातमा ओछ्यानबाटै अपहरणमा परेका थिए। उनलाई प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नम्बर १ स्थित छात्तिको जंगलबाट अपहरणमुक्त गराएको हो।

शनिबार राति १२ बजेतिर आफ्नै घरमा सुतिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाबाट अपरहणमा परेका गाउँपालिका अध्यक्ष शाहीलाई कालिकोट प्रहरीको संरक्षणमा शुभकालिका गाउँपालिका-१ छात्ती भन्ने स्थानबाट सकुसल उद्धार गरिएको बताइएकाे छ । 

उनलाई गाउँकै एकजना घरमा लुकाउँन लगिँदै गरिएको अवस्थामा कालिकोट सशत्र प्रहरी र जनपद प्रहरीले १९ घण्टापछि अध्यक्षको सकुशल उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए।

अहिले गाउँपालिका अध्यक्ष प्रहरीको सुरक्षामा रहेका छन्। अपरहणमा परेकी भनिएकी गाउँपालिका अध्यक्षकी श्रीमती इला मल्ल (शाही) दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने भर्ता लेकबाट शनिबार बिहान नौ बजेतिर सकुशल फेला परेकी थिइन्।