गुडिरहेको ट्याक्टरमै बच्चा जन्मिएपछि….
कपिलवस्तु, गुडिरहेको ट्याक्टरमा एक गर्भवती महिला सुत्केरी भएकी छन् । विजयनगर गाउँपालिका–५ कटुवाकी उर्मिला कोरीलाई ट्याक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चा जन्मिएको हो ।
विजयनगर गाउँपालिकामा कुनै एम्बुलेन्स नभएपछि गर्भवती कोरीलाई सुत्केरी गराउन लु ३ त २४४८ नम्बरको ट्याक्टरमा चन्द्रौटा लगिँदै थियो । सुत्केरी व्यथा सँगै ट्याक्टरको उफ्राइले चन्द्रौटको बिच शहरमा नै कोरीले छोरा जन्माइन ।
बाटोमा नै बच्चा जन्मिएपछि अस्पताल नपुगि घर फर्किएको उर्मिलाकी सासुले बताइन् । गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले चन्द्रौटा पुग्नु पर्ने त्यहिँमाथि एम्बुलेन्स पनि नहुँदा सुत्केरी हुने महिलालाई ट्याक्टरमै हालेर लैजानु पर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।
गाउँपालिकाले एम्बुलेन्स खरिदको लागि पहल भइरहेको बताएको छ । यस आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको जनाइएकाे छ ।