भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ६ जनाको मृत्यु

एजेन्सी, भारतमा नागरिकता कानुनको विरोधमा भएको हिंसामा उत्तर प्रदेशमा ६ जनाका मृत्यु भएको छ। उत्तर प्रदेशको बिजनौरमा गोली लागेर २ युवकको मृत्यु भएको छ।

बिजनौरको नहटौरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना गम्भीर घाइते भएकामा २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। त्यसक्रममा ८ प्रहरी घाइते भएका छन्। यस्तै, लखनऊ, कानपुर, सम्भल र फिरोजावादमा १–१ जनाको मृत्यु भएको छ। मेरठमा प्रदर्शनकारीले एक प्रहरीचौकी जलाएका छन्।

उत्तर प्रदेशमा शुक्रबार नमाजपछि हिंसा भड्किएको हो। विशेषगरी, फिरोजावाद, गोरखपुर, मेरठ, गाजियावाद, हापुड, बहराइच, मुजफ्फुरनगर, कानपुर, उन्नाव, भदोहीमा हिंसात्मक प्रदर्शन भएको हो। कानपुरमा भएको हिंस्रक प्रदर्शनमा १३ प्रदर्शनकारी र ६ प्रहरी घाइते भएका छन्।

नागरिकता विधेयकको विरोधमा भारतमा भइरहेको प्रदर्शन हिंसात्मक हुँदै गएको छ। शुक्रबार नयाँदिल्लीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले दिल्ली गेटमा आगो लगाएका छन्।

यस्तै, दिल्लीको दरियागन्ज क्षेत्रमा प्रदर्शनकारीले गाडीमा आगो लगाएका छन् भने त्यसक्रममा भीडले प्रहरीमाथि ढुंगा बर्साएको छ। प्रहरीले उनीहरुलाई तितरबितर पार्न पानीका फोहोरा प्रयोग गरेको थियो।