हँसियाको विहे, खुर्पाको गीत

थोमस एल्वा एडिसन कयौं पटकको प्रयासपछि बल्ब बनाउन सफल भए । त्यसपछि उनले पियनको काम गर्ने सहयोगीलाई बोलाएर बल्ब परीक्षणका लागि अ¥हाए । तर उनले पहिलो पटक बल्ब समाएका कारण अत्तालिएर बल्ब भूइँमा खसाए ।

दुई दिनपछि एडिसनले बल्ब परीक्षणका लागि फेरि बैठक डाके । उनले पहिलेका सहयोगीलाई बोलाएर बल्ब हातमा लिन भने । अरु स्टाफ एकै स्वरमा कराए– उसले अस्ति पनि बल्ब फुटाएको हो । अहिले पनि फुटाउन सक्छ । किन दिनुभएको फेरि उसैलाई ?’

एडिसनले जवाफ दिए– ‘अस्ति फुटेको बल्ब बनाउन मलाई एक दिन लाग्यो । यो बल्ब फुट्यो भने यसलाई फेरि बनाउन एकदिन लाग्नेछ । त्यो म बनाउन सक्छु । आफ्नो हातबाट बल्ब फुटेका कारण यो केटोले गल्तीको पश्चाताप गरिरह्यो भने उसले जिन्दगीभर आफ्नो आत्मविश्वास गुमाउने छ र डरमा बाँचिरहने छ । गल्ती गरेपछि जब व्यक्तिले त्यो गल्ती सुधार्नको लागि त्यही काम फेरि गर्दैन, ऊ पश्चातापमा बाँच्छ, जुुन उसको जिन्दगीका लागि खतरनाक हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकारको जिम्मेवारी एडिसनको मनोविज्ञानसंग मिल्दोजुल्दो छ । त्यो बकस पासमा अधिकार कम, निगाहाको मात्रा धेरै छ । प्रचण्डको चिडचिडाहटले भन्छ– उनका लागि पार्टी एकता भँगेराको शिकार जस्तै भएको छ ।  भँगेरा मार्न जति सजिलो हुन्छ, भुत्ल्याउन उति नै कठिन ।

राम्रो काम गर्न माक्र्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, समाजवाद केही पढ्नु पर्दैन, बस एउटा कमिलालाई हेरे पुग्छ– जसले आफूभन्दा दसौं गुना ठूलो वस्तु मेहनतकासाथ बोक्छ

सम्बन्ध जतिसुकै खराब भएपनि त्यसलाई तोड्ने कोशिस प्रचण्डको कोर्टबाट अबका दिनमा नहुने निश्चित छ । किनकी पानी जतिसुकै धमिलो भएपनि त्यसले तिर्खा त मेट्दैन तर आगो निभाउन काम लाग्छ भन्ने सत्य उनले गिरिजाप्रसाद कोइरालासंगको दोस्तीबाट घाँटीघाँटीसम्म सिकेका छन् ।

गिरिजाप्रसादले राजा ज्ञानेन्द्रसंग प्रतिशोध साँध्न ‘प्रचण्ड’ अस्त्र उपयोग गरे । कोइराला नेपाली राजनीतिको ‘डिलर’ भएको बुझेका प्रचण्डले भक्कु राजनीतिक फाइदा उठाए । यो सम्बन्ध व्यावसायिकताको अंश थोरै, व्यापारिक ज्यादा थियो । चुनाव जितेपछि ‘भाले’ भएका प्रचण्डले गिरिजाप्रसादलाई बाल नदिनु पछि यही स्वार्थले काम गरेको थियो । समकालीन राजनीतिमा प्रचण्ड यस्ता चतुर राजनीतिक व्यापारी हुन, जो एमाले र कांग्रेस छुट्टिने गौंडोमा बसेर आफ्नो गोरखधन्दा आनन्दसंग चलाउन सफल छन् ।

शान्तिप्रक्रियामा माओवादीलाई आफ्नै पार्टी बराबरको हैसियत दिएर संसद भित्र्याउँदा एमाले नेताहरु गिरिजाप्रसाद कोइरालासंग आगो भएका थिए । प्रचण्डलाई पुल्पुल्याएर शिरमा पु¥याएको उनीहरुको आरोप थियो । चित र पोट जता पनि दाउ हान्न सिपालु प्रचण्डले गिरिजाप्रसादसंग आर्जित विश्वासको चेक देखाएर शेरबहादुर देउवामार्फत छोरी रेणुलाई भरतपुर महानगरको मेयर बनाए ।

कांग्रेसीजनका लागि माओवादीसंगको त्यो सहकार्य अहिले पनि हँसियाको विहेमा खुर्पाको गीत गाएजस्तै बिर्सनयोग्य सपना भएको छ । आफू बोकिएर दुई पटक प्रधानमन्त्री, छोरीलाई देउवाको काँधमा बोकाएर मेयर बनाएका प्रचण्डले दुई वर्ष नवित्दै बुहारीको भविष्य केपी ओलीको पोल्टामा हालिदिए । ओलीका लागि बुहारीको बैतरणी घाँटीमा अड्किएको छुचुन्द्रो सावित भएको छ ।

गल्ती गरेपछि जब व्यक्तिले त्यो गल्ती सुधार्नको लागि त्यही काम फेरि गर्दैन, ऊ पश्चातापमा बाँच्छ, जुुन उसको जिन्दगीका लागि खतरनाक हुन्छ ।’

गुरु द्रोणाचार्यले आफ्नो छोरो अश्वत्थामालाई उत्कृष्ट बनाउन ठूलो घाँटी भएको घडा दिएका थिए । अरु शिष्यले साँघुरो घाँटी भएको घडा पाएका थिए । नदीबाट जसले छिटो पानी भरेर लिएर आउँथ्यो, उही उत्कृष्ट ठहरिन्थ्यो । केपी ओलीले मेलम्चीघडालाई त्यस्तै सुविधाजनक बनाइ दिए । समयले एकदिन ओलीलाई प्रश्न गर्नेछ– ‘दियो हावाका कारण निभ्यो भने त हावालाई दोष दिनुहोला, तेल सकिएर निभ्यो भने कसलाई कसलाई दोष दिनुहुन्छ, महाशय ?’

त्यसबेला प्रश्नको उत्तर नभएर पश्चातापका चाङ मात्र बाँकी रहने छन् । यो कलियुग हो, आफूलाई राज्य ठान्नुअघि दशपटक नसोच्ने हो भने त्यो वाण आत्मघाती भएर आफैंतिर फर्कन धेरै समय कुर्नै पर्दैन । कलियुगमा हुने ज्यादतीबारे पाँच हजार वर्षअघि लेखिएको गीताग्रन्थले उतिबेलै खबरदारी गरेको छ ।

लिङ्ग एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।
अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ।।
वित्तमेव कलौ नृणां जन्माचारगुणोदयः ।
धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ।।

जसको तात्पर्य हो– ‘जो मानिस घुस दिन या धन खर्च गर्न असमर्थ हुन्छ, उसले अदालतबाट न्याय पाउन सक्ने छैन । जो व्यक्ति बहुत चलाख तथा स्वार्थी हुन्छ उ यो युगमा निकै विद्वान मानिन्छ । कलयुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । र कानुन, न्याय केवल शक्तिका आधारमा लागू गरिने छ ।’

आखिर व्यक्ति विकासमा पनि यो सिद्धान्त लागू हुन्छ नै । त्यसैले गगन थापा पुस्ताले पनि प्रचण्डका नातिको भविष्य निर्माणका लागि काँध तयार पारेर राखे हुन्छ । एउटै घटनामा पनि मान्छेले नाफा घाटा हेरेर फरक फरक निर्णय गर्छ । जस्तो चियामा झिंगा डुबे चिया मिल्काउँछ । घिउमा झिंगा परे झिंगा मिल्काउँछ । कुकुरसंग तुलना गरे झगडा गर्न तम्सन्छ, सिंह भन्यो भने मख्ख पर्छ ।

स्वामीनाथ पाण्डेले ‘विधवा’ शीर्षकमा हिन्दी भाषामा तीन पंक्तिको उपन्यास लेखेका छन् । उपन्यास यस्तो छ– ‘एकजना विधवा आमाका दुई छोरा एकजना तल्लो र एकजना माथिल्लो तलामा बस्छन् । प्रत्येक महिना पहिलो १५ दिन एउटा छोराकोमा र पछिल्लो १५ दिन अर्को छोराकोमा खाना खान्छिन् । तर, दुर्भाग्य जुन जुन महिना ३१ को हुन्छ, त्यो महिना एकदिन त्यो आमाले उपबास बस्नुपर्छ ।’

नेताहरुको हाकिम हुने प्रतिस्पर्धाका कारण नेपाल कम्युनिष्ट पार्टीका उम्दा कार्यकर्ताको दैनिकी ठ्याक्कै तिनै महिलाको जस्तै छ । बालुवाटारको प्रताप खुमलटार स¥यो भन्ने सुन्नेवित्तिक्कै प्रचण्ड निवास हानिएका भक्तहरु फेरि प्वाँख काटिएको सुन्नासाथ गन्तव्य फेर्न बाध्य छन् । राजनीतिमा हाकिम प्रवृत्ति कति घातक हुन्छ भने रोमानियाका कम्युनिष्ट तानाशाह निकोलस चाउचेस्कु किटाणुको संक्रमणबाट बच्न दिनमा तीस पटक अल्कोहलले हात धुन्थे । अरु मानिससंग हात मिलाउँदा पञ्जा लगाउँथे ।

उनी होचा थिए, तर पत्रिकामा फोटो छापिँदा अरुभन्दा अग्लो पारेर छाप्नु पथ्र्यो । यो अन्याय उनैका समर्थकलाई धेरै समय मञ्जुर भएन । आखिर समर्थकले नै सडकमा ल्याएर पत्नीसहित घिसारेर मारे । त्यसैले त नेता बेलुनजस्तो नभएर गाडीको टायरजस्तो हुनुपर्छ ।

नेता सत्तामा पुग्दा लोकतन्त्र हाँस्ने, सडकमा पुगेपछि लोकतन्त्रमा ग्रहण लाग्ने मुलुक कुन हो ? क्रान्ति कहिल्यै नसकिने देश कुन हो ? जनताको रासनभन्दा नेताको भाषण विक्ने तन्त्र कुन देशमा छ ? मतदाताभन्दा नेता सस्तो भएको अनौठो राज्य कुन हो ? राजनीतिले सेवा नभएर दलाली र जागिरको मर्यादा कुन देशमा पाएको छ ? गन्तव्यमा पुग्न एम्बुलेन्स भन्दा शब बाहनलाई हतारो हुने देश कुन हो ? लोकसेवाको पाठ्यक्रम परिवर्तन गरेर यी प्रश्न बनाइएको खण्डमा परीक्षार्थीले सग्लो उत्तर दिनेछन्– नेपाल ।

आफैले गरेको त्याग र संघर्ष विरुद्ध डेढ दशकमै प्रतिक्रान्तिका लागि जनता उचाल्ने घृणित खेलले राजनीतिलाई सामान्य शिष्टताभन्दा पनि रसातलमा जाकेको छ । यही सोच झाँगिदा सग्लो देश समृद्ध बनाउने भन्दा पनि केक बनाएर भाग खाने प्रतिस्पर्धा तीब्र बनेको छ । मन्त्रीहरु देशका नभएर क्षेत्रपालजस्ता भएका छन् । पूर्वी बोर्डर झापाबाट हिँडेको रात्रीबस एकरात छिचोलेपछि पश्चिमी किल्ला कन्चनपुर पुग्छ । यत्रो देशभित्र खोजिने शासकीय अधिकारको औचित्य के होला ?

भारतका लोकप्रिय नेता चौधरी चरणसिंहले सत्तामा आएलगत्तै अनियमित काममा संलग्न हजारौं सरकारी लेखापाललाई पदमुक्त गरे । खोइ, उनको राजनीतिक लोकप्रियतामा कहिल्यै कमी आएन । विहारमै बसेर उनी सम्पूर्ण भारतको शासन चलाउँथे । राम्रो काम गर्न माक्र्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, समाजवाद केही पढ्नु पर्दैन, बस एउटा कमिलालाई हेरे पुग्छ– जसले आफूभन्दा दसौं गुना ठूलो वस्तु मेहनतकासाथ बोक्छ । त्यही अपजसी मूसा जसले समुद्रपारीबाट ल्याएर पृथ्वीमा अन्नको चिनारी गराएको विश्वास गरिन्छ ।

अझ राज्य त त्यो दुधालु गाई हो, जसको स्याहार चाकर गरेमा सवैलाई अमृत बाँड्छ । स्याहार नगर्ने उही लाम्टामा झुत्ती खेल्ने हो भने अहिलेकै दृश्य काफी छँदैछ । राज्यलाई खल्तीको कागज ठान्दा यस्तो परिस्थिति आएको हो भन्नेमा सन्देह छैन ।

राज्यका सारथीहरुले गर्ने सामान्य गल्तीको परिणाम कति पुस्ताले झेल्नुपर्छ सहजै आंकलन गर्न सकिन्छ । जसले आफूले आफैलाई शासन गर्न सक्दैन, त्यसले गरेको शासन गलत हुन्छ । एउटा अपठित मानिसले गर्ने काम जस्तैः घाँस काट्न, गाई दुहुन, हलो जोत्न पनि सीप चाहिन्छ । सवैभन्दा सजिलो काम ढिंडो, रोटो र खोले फाँडो खाने पनि आफ्नै तरिका छ । ढिंडो चपाएर निल्यो भने निल्नेको इज्जत स्वाहा हुन्छ ।

अब प्रश्न उठ्छ– यी सामान्य विषयमा त सीपको दरकार पर्छ भने राज्य चलाउनेहरु चाहिँ के जति अयोग्य भए पनि हुन्छ ? राजनीति गर्नेले समाज बुझ्नु पर्दैन ? गाउँमा बोलिने गानोगोला र शहरमा बोलिने ग्यास्टिकको भेद कुनै डाक्टरले अलग अलग खुट्याएर उपचार ग¥यो भने के हुन्छ ? समूल समाजकै डाक्टर मानिने राजनीतिज्ञहरुले पनि यस्ता घटनाबाट सबक सिक्न जरुरी छ । नत्र हेक्का राखे हुन्छ– लक्ष्यविनाको राजनीति र ठेगानारहित चिट्ठीको खामले गन्तव्य समाउँदैन ।