नगर प्रमुखले हाजिर हुन नदिएका कर्मचारीलाई अदालतले दियो यस्तो आदेश
अछाम, अछामको पञ्देवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाले हाजिर हुन नदिएका कर्मचारी कार्यकारी अधिकृत पदम बहादुर माझीलाई तोकिएको कार्य सम्पादन गर्न उच्चअदालत दिपायल डोटीले आदेश दिएको छ ।
गत भाद्र ३१ गते नगरपालिकाका अधिकृत पदमबहादुर माझीले दायर गरेको रिट निवेदनमाथि मंसिर २९ गते फैसला सुनाउँदै उच्चअदालत दिपायल डोटीले विपक्षीको नाममा हाजिर हुन र अख्तियार प्राप्त निकायबाट तोकिएको कार्य सम्पादन गर्न बाधा, अडचन नगर्नु नगराउनु भनि उत्प्रेषण आदेश जारी गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंले मंगलसैन नगरपालिकाबाट समायोजन संशोधन सहित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पञ्चदेवल विनायक नगरपालिकामा हाजिर हुन खटाएको थियो ।
तर, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा र तत्कालीन नि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीकान्त बजगाइले हाजिर हुन नदिई पदीय कर्तव्य पालना गर्न पदमबहादुर माझीलाई बाधा अवरोध गरेका थिए ।
अधिकृत माझिले नगर प्रमुख देवकोटा, तत्कालीन कावा नगर प्रमुख पदमबहादुर धामी, लक्ष्मीकान्त बजगाई र जिल्ला प्रशासन कार्यालय अछाम समेत विपक्षी रहेको उक्त उत्प्रेषण मुद्दाको अदालतले अन्तिम किनारा लगाइदै फैसला सुनाएको हो ।
माझीकाे दुखेशाे
म स्थानीय तहको लामो समयको अनुभव प्राप्त कर्मचारी हुँ । हालसम्म कुनै पनि पार्टीमा आबद्ध छैन । पार्टीमा आबद्ध नहुने कर्मचारी सायद यसरी नै पूर्वाग्रहबाट दुख पाउँदा रहेछन भन्ने अनुभूति त्यतिबेला भयो जब मलाई पार्टी सदस्यता लिन दबाब सिर्जना भयो ।
जिल्लाको नीति निर्माण योजना तर्जुमा देखि कार्यालय प्रमुख राजनीति दलका नेताहरुलाई जनसरोकारका विषयमा तालिम दिने स्रोत व्यक्ति समेत हु । तर मेरो आफ्नै घर भएको नगरपालिकाका म जस्तो अनुभवी कर्मचारीलाई हाजिर हुन बाधा अवरोध हुँदा म अचम्मित परेको थिएँ । यतिबेला सम्मानित अदालतकाे आदेशले खुशि तुल्याएकाे छ ।
यस्तो छ नगरप्रमुखको भनाई
अछामको पञ्देवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाले आफनो नगरपालिकालाई दक्ष जनशक्तिको आबश्यक्ता महशुस गरेर त्यस्तो कदम चालेको बताएका छन । देबकोटाले सम्मानीत अदालतको आदेशलाई सहज रुपमा लिएको बताए ।
उनले कानुन भन्दा माथी कोही नभएको भन्दै अदालतको आदेशलाई सहज रुपमा लिएको बताएका हुन । उनले अब कार्य सम्पादनमा कुनै अबरोध नहुने समेत जिकिर गरे ।