जब मुख्यमन्त्री शाहीले बेल्च्या समातेर श्रमदान सुरु गरे…….

कालिकोट,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक महिनाको एक दिन श्रमदान गर्ने भएका छन । गृहजिल्ला कालिकोटको सदरमुकाम मान्ममा निर्माणाधीन चक्रपथमा मंगलवार उनले श्रमदान गर्दै महिनाको १ दिन श्रमदान गर्ने बताएका हुन् । कर्णाली प्रदेश सरकारले प्रत्येक महिना २ दिन गर्दै आएको श्रमदान कार्यक्रमको शिलशिलामा मुख्यमन्त्री शाहीले श्रमदान गरेका हुन ।

यसअघि महिनामा २ दिन श्रम गर्ने भन्ने गरि काम शुरु गरेका थियौँ तर कामका कारणले २ दिन सम्भब नभएकोले अब १ दिन गर्न शुरु गरिएको मुख्यमन्त्री शाहीले बताए । श्रम संस्कृति बसाल्न श्रम दिवसको समेत शुरूआत गर्दै मुख्यमन्त्री शाहीले श्रमको सम्मान गर्न श्रम दिवस मनाउने कार्यको थालनी गरिएको जानकारी दिए । ‘कामका आधारमा ठूला र साना भन्ने हुँदैनन् । सामन्तवादी संस्कृति अन्त्य गर्नुपर्छ,’मुख्यमन्त्री शाहीले भने ।

प्रदेश समन्वय परिषद्बाट प्रदेशका ७९ वटै स्थानीय सरकारहरुलाई श्रम नीतिअनुसार कार्ययोजना बनाई काम गर्न निर्देशन दिइएको समेत मुख्यमन्त्री शाहीले जानकारी दिए । मुख्यमन्त्री शाहीले काम देखाउन मात्र नभई श्रम संस्कृतिको विकास गर्न सरकारले शुरू गरेको श्रम दिवस अभियान सफल बनाउनका लागि नागरिक तहदेखि प्रदेशका सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, कालीकोट खाँडाचक्र नगरपालिकाका प्रमुख जैसीप्रसाद पाण्डे, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकलगायत नेपाली सेना, नेपाल प्रहरी र नागरिकले श्रमदान गरेका थिए ।