घुस प्रकरणमा गुठी संस्थानका प्रमुखसहित दुईजना पक्राउ
काठमाडौं,राजधानीको त्रिपुरेश्वरस्थित गुठी संस्थानका प्रमुख प्रशासकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस प्रकरणमा पक्राउ गरेको हो। उनीहरु दुवैले घुस वापतको रकम लिएपछि फिर्तासमेत गरेको भेटिएपछि अख्तियारले मंगलबार पक्राउ गरी हिरासतमा लिएको हो।
प्रमुख प्रशासक र उप-प्रशासक जयप्रसाद रेग्मीले काठमाडौं महानगरपालिका-१ स्थित जग्गाबारे गुठी संस्थानमा चलिरहेको मुद्दाका क्रममा घुस लिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले थाहाखबरलाई जानकारी दिए। कोइरालाका अनुसार उनीहरुले गुठीको जग्गा गुठीमै कायम गर्न लिएको घुस मंगलबारै फिर्ता गरेका थिए।
उनीहरु दुवैजनालाई घुस वापतको रकम लिइसकेपछि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कोइरालाले बताए। तर उनले दुवैले लिएको घुसको रकमबारे केही खुलाएनन्। ‘हामी अनुसन्धानकै क्रममा छौँ’, उनले भने, ‘अनुसन्धान पूरा भएपछि उनीहरुले लिएको घुसको रकमबारे खुलाउँछौँ।’

