अबरुद्ध सडक सुचारु गर्न माननीयको सक्रियता
जाजरकाेट,अबरुद्ध भएको सडक निर्माणको कामलाई सुचारु गर्न कर्णाली प्रदेश सभा सदस्य तथा जाजरकोट जिल्लाबाट कर्णाली प्रदेश ‘क’ का माननीय गणेशप्रसाद सिंहले सक्रियता बढाएका छन् । ६ बर्ष देखि निर्माण कार्य अबरुद्ध भएको पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला सडकको काम सुचारु गर्न माननीय सिंहले सक्रियता बढाएका हुन् ।
सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा समन्वयात्मक बैठकको आयोजना गरेर सडक निर्माणको कामलाई सुचारु गर्न माननीय सिंहले सक्रियता बढाएका थिए । पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला सडक खण्डमा सडक डिभिजन कार्यालयले २०७० सालमा खोलेका दुई वटा ठेक्का र कर्णाली प्रदेश सरकारको पुर्बाधार बिकास कार्यालय, जाजरकोटले गत बर्ष खोलेको एक वटा ठेक्काको निर्माण कार्य हालसम्म सुचारु नभएपछि माननीय सिंहले सक्रियता बढाएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख, नलगाड नगरपालिकाका प्रमुख, सडक डिभिजन कार्यालयका ईन्जिनियर, पुर्वाधार बिकास कार्यालय, प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, भेरी नगरपालिकाका ईन्जिनियर, निर्माण व्यवसायीहरुको उपस्थितिमा सम्पन्न समन्वयात्मक बैंठकले बिगत ६ बर्षदेखि अबरुद्ध भएको पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला सडक खण्डको निर्माण कार्य दुई हप्ता भित्रै सुरु गर्ने निर्णय गरेको छ ।
सडक डिभिजन कार्यालय, सुर्खेतसंग आर्थिक बर्ष २०७०÷०७१ मा ठेक्का सम्झौता गरेको रौताहा कन्ट्रक्सन प्राली उदयपुरले हालसम्म काम गर्न सकेको थिएन । सम्भौता गरिएको उक्त ठेक्काको चेनेजमा सडक डिभिजन कार्यालयले बाताबरण प्रभाव मुल्याङ्कण (ईआईए) नगरेको कारण काम गर्न नसकिएको निर्माण कम्पनी प्रतिनीधि शान्त बस्नेतले बताए ।
आव २०७०÷०७१ मा सडक डिभिजन कार्यालय, सुर्खेतले आहवान गरेको ठेक्का नम्बर ६ को कार्यादेश २०७० मंसिर २२ गते र ठेक्का नम्बर १२५ को कार्यादेश २०७० चैत २५ गते रौताहा कन्ट्रक्सन प्रालीलाई दिएको सडक डिभिजन कार्यालय पश्चिम रुकुम चौरजहारीका ईन्जिनियर कुशल भुषालले जानकारी दिए । ईन्जिनियर भुषालले दिएको जानकारी अनुसार सम्झौता पत्रमा रौताहा कन्ट्रक्सन प्रालीले ठेक्का नम्बर ६ मा ९६ हजार र ठेक्का नम्बर १२५ मा ५९ हजार ४ सय घनामिटर नयाँ सडक कटिङ्ग गर्नुपर्ने छ । साढी एक करोड भन्दा बढी लागतमा सम्झौता भएको ठेक्कामा २६ प्रतिशत निर्माण कम्पनीले भुक्तानी लिएको ईन्जिनियर भुषालले जानकारी दिए ।
तयसैगरि पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला सडकखण्डमा कर्णाली पदेश सरकारको पूर्वाधार बिकास कार्यालय, जाजरकोटले आब २०७५÷०७६ को ठेक्का नम्बर ३० केशवशाह कन्ट्रक्सन सेवा प्राली नौबस्ता बाँकेसंग सम्झौता गरि यहि मंसिर १६ गते कार्यादेश दिएको निमित्त कार्यालय प्रमुख टकेन्द्र रोकायले जानकारी दिए । २ करोड ७० लाखको ठेक्का १ करोड ३७ लाख घटिघटाउँमा सम्झौता गरेको केशवशाह कन्ट्रक्सन सेवा प्रालीले १ लाख ४६ हजार घनमिटर नयाँ सडक कटिङ्ग गर्नुपर्ने निमित्त प्रमुख रोकायले बताएका छन् ।
सडक निर्माणका लागि रौताहा कन्ट्रक्सन प्राली र केशवशाह कन्ट्रक्सन सेवा प्रालीसंग सम्झौता गरेका सडक डिभिजन कार्यालय र पूर्बाधार बिकास कार्यालयले निर्माण कम्पनीलाई आगामी जेठ २२ गते भित्रै काम सम्पन्न गरिसक्नु पर्ने समय सिमा निर्धारण गरेका छन् ।