चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब साढे १० बजे चाबहिलस्थित ओम अस्पतालमा भट्टराईको निधन भएको हो। घरमा अचानक बिरामी भएपछि अस्पताल लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो।

मृत्युको कारण हृदयघात भएको आशंका गरिए पनि स्पष्ट भइनसकेको अस्पतालले जनाएको छ। भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। उनले थुप्रै चलचित्र तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै निर्माणसमेत गरेका छन्।

‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु उनका सफल चलचित्र मानिन्छन्। भट्टराईको जन्म २०२५ मंसिर ४ मा ओखलढुंगामा भएको थियो।