बिहेको भोलिपल्टै श्रीमतीको हत्या

दिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् । गत मंसिर ९ गते धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका थिए ।

मकावनपुरकी अनिशालाई बिहे गरेको भोलिपल्टै हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा लुकाएको खुलेको हो । शव लुकाउन अर्जुनका काका छवि थापा मगर र आफन्त इन्द्रबहादुर थापाले सघाएको प्रहरीको भनाइ छ ।

मंसिर १० गते दिउँसोसम्म अनिशालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा नदेखेपछि अर्जुनलाई सोघखोज गरेका थिए । उनले माइतीघर गएको भनेर टारेका थिए ।

केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको ?’ अर्जुन र उनका केही आफन्तले गोरु मरेको जवाफ दिएका थिए । वरिपरि कसैको गाईगोरु नमरेको र अनिशा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरे ।

गाउँलेले थाहा पाएपछि घटनाबारे प्रहरीलाई सूचना दिइएको सिद्धलेक ३ का अध्यक्ष देवबहादुर पुलामीले बताए । प्रहरीका अनुसार अर्जुनले बिहे गरेर ल्याएको भोलिपल्ट राति घाँटी थिचेर हत्या गरेका हुन् । प्रहरीले अर्जुनसहित उनका काका छवि र आफन्त इन्द्रबहादुरलाई पक्राउ गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।