पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौँ, पश्चिमी न्यून चापीय वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू-भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो ।
मौसमविद्का अनुसार यो क्रम शनिबार बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हुँदै जाने बताइएको छ । ‘पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भू-भागका स्थानमा सतर्कता अपाउनु हुन अनुरोध गरिन्छ,’ विभागले भनेको छ ।
विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भू-भाग र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू-भागमा हल्का वर्षा भएको साथै उच्च पहाडी र हिमाली भू-भागमा हिमपातसमेत भएको जनाएको छ । हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् ।