समलिंगी महिलाका पिडा सुनेर जब सासंदहरू भक्कानिए

काठमाडौं,परिवारबाट सबैभन्दा बढी पीडा खेप्दै आएको भन्दै मकवानपुर हेटौंडाकी समलिंगी महिला मोनिका तामाङ भक्कानिँदै जब रुन थालिन । कार्यक्रममा सहभागी सांसददेखि सहभागीसम्मका आँखा रसाए। जन्मदिने आमाबाट समेत तिरस्कृत हुनुपरेको पीडा सुनाउँदै तामाङले समलिंगी महिला भएकैले परिवारले मानसिक यातना दिएको र अपहेलित भएर बाँच्नु परेको बताइन ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन एवं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मितिनी नेपालले आयोजना गरेकाे कार्यक्रममा उनकाे  पिडा जब पाेखियाे बातावरण स्तब्ध बन्याे  । माेनिकाकाे पिडा जस्तै अन्य समलिङगि महिलाहरूकाे पिडा पनि कम थिएनन ।  मितिनी नेपालले मंगलबार माइती नेपालद्वारा नयाँ बानेश्वर काठमाडौंमा एलबीटी महिला हिंसा सम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।

 

अर्की समलिंगी महिला समीक्षा तामाङले घर–परिवारबाट अपहेलित हुँदा शिक्षाबाट समेत वञ्चित हुनुपरेको बताउँदै सरकारले आफ्नो समस्या नबुझ्दा अवस्था झन् जटिल बन्दै गएको गुनासो गरिन ।

सरकारले यौनिक तथा अल्पसंख्यक समुदायबारे पाठ्यक्रममा नै समावेश गर्नुपर्ने उनको माग थियो। स्याङ्जाकी स्वस्तिका परियारको पीडा पनि यस्तै थियो। समलिंगी भएकैले आमाबुबा टाढा भएको बताउँदै उनले भनिन – ‘समलिंगी महिलालाई परिवार र समाजले स्वीकार्दैन, हामी पनि मानिस नै हाैँ किन समाजले मानिसको व्यवहार गर्दैन ?’

सांसदहरूसँग आफ्नो गुनासो पोख्दै पोखराकी सुवासना गुरुङले आफूहरू सबैभन्दा बढी परिवारबाटै हिंसामा परेको बताइन । आफूहरूबीच समलिंगी विवाह हुँदा परिवारले दिएको यातनाबारे मानव अधिकार आयोगलाई गुहार्दा समेत न्याय नपाएको बताइन ।

सहभागीको गुनासो र पीडा सुनिरहँदा मञ्चमा आसीन सांसद मीना बुढाको पनि आँखामा आँशु थामिएन। सांसद कृष्ण राई पनि भावुक बन्दै अब कानुन बनाउँदा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन ।

सांसद युटल तामाङले आफ्नै आँखाको आँशु पुछ्दै भनिन , ‘समाजमा रहेको विभेद र असमानता हटाउन अझै पनि सशक्त अभियान थाल्नुपर्छ।’कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायले आफ्ना मुद्दा सम्बोधन गर्न सांसदहरूसँग माग गरे। उनीहरूले नागरिकता, राहदानी, अंश, वंशलगायतकोे क्षेत्रमा भोग्नुपरेको समस्या हटाइदिन आग्रह गरेका थिए।