समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यकः मुख्यमन्त्री शाही

बिरेन्द्रनगर, सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोमबार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले तीव्र विकास, गरिबीको अन्त्य र सुशासनको प्रत्याभूति सबै नागरिकको चाहना भएको र यसलाई पूरा गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन ।

मुख्यमन्त्री शाहीले कर्णालीको गरिबीको अन्त्य, उत्पादन वृद्धि, पर्यटकीय क्षेत्रको विकास, उर्जा तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा एकीकृत रुपमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुलाई आग्रह गरे । प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा विकास साझेदार संस्थाहरुले लगानी गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको धारणा राखे ।

उनले समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको सोचसहित प्रदेश योजना आयोगबाट कर्णाली प्रदेशको प्रोफाईल निर्माण, पञ्चवर्षिय आवधिक योजनाको मस्यौदा तयारी, आयोजना बैंकको तयारी जस्ता काम सम्पन्न भएको बताए । बैठकमा बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग डीएफआईडीकी नेपाल प्रमुख लिसा हानोनले अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुले एकीकृत रुपमा प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम सञ्चालनका लागि संघीय सरकारसँग सम्झौता गरिसकेको जानकारी दिए ।

ठूला परियोजना सञ्चालनका लागि संघीय सरकारसँग सहकार्य भइरहेको बताउँदै विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हाडिडले मझौला तथा साना योजना, स्थानीय उत्पादनको ब्राण्डिङ्ग, तथा ग्रामीण तथा प्रदेश तहका परियोजनामा प्रदेश सरकारसँग सहकार्य गर्न विश्व बैंक इच्छुक रहेको बताए ।