भारतबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुर आउने
जनकपुर,सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम आउँदै छन्। बिहान पौने ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति जनकपुरधाम आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।
कँडेलका अनुसार पौने ११ बजे जनकपुरस्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गर्ने राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्नेछन्।
त्यसपछि राष्ट्रपति भण्डारी भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुसन्तको जन्तीलाई स्वागत तथा सम्बोधन गर्न ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा पुग्ने कार्यक्रम रहेको जनाइएको छ।
धार्मिक एवं सांकृतिक पर्वको रूपमा रहेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट साधुसन्त रामको जन्ती बनेर जनकपुर आउने गर्छन्।
मंसिर १५ गते आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुसन्तको जन्ती बिहीबार जनकपुर आइपुगेको छ। राष्ट्रपतिबाट जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णबले बताए।