निर्वाचन आयोगले भन्यो‘ढुक्कसंग मतदान गर्नोस्’

काठमाडौं, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि डर, त्रासमा नपरी मतदान गर्न आग्रह गरेका छन् । उपनिर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार हामीसित कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका हुन् ।

उनले सुरक्षा संवेदनशीलताका आधारमा नेपाली सेनासहित सुरक्षा निकायका तीनओटै अंगलाई परिचालन गरिएको जानकारी दिए । ‘कुनैपनि किसिमको शंका, त्रास अथवा डरबाट मुक्त भएर मतदाताहरु आउनसक्ने अवस्था सिर्जना गरिएको छ’–उनले भने ।

उपनिर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पनि पूरा भइसकेको उनले बताए । मतदान केन्द्रहरुमा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरु पुगिसकेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा, प्रदेशसभा, नगरपालिका र गाउँपालिकाका रिक्त ५२ पदका लागि शनिबार उपनिर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।