अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, १३ जना घाईते (अपडेट)

अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु २ ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटनामा १७ जनाको घटना स्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।