हर्न बजाउने १८८ सवारीमाथि ट्राफिक प्रहरीको कारबाही
काठमाडौँ,ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामाबाहेक हर्न बजाउन कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो।
ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो। हर्नमा कडाइ गरेसँगै महाशाखाले सोमबर १८८ सवारी साधनलाई कारबाही गरेको छ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी हर्नमा कडाइ गरिएको जानकारी दिए। ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीलाई आयातमा नै रोक लगाउने उनको भनाइ छ।
महाशाखाले २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरेको थियो। ट्राफिक प्रहरीले हालसम्म जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीलाई कारवाही गरिसकेको जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को ग अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ। उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५०० जरिवाना गर्न सक्ने व्यवस्था छ।