बलात्कार प्रयासको आरोपमा पक्राउ परेका चिकित्सक मेडिसिटीबाट निलम्बित

काठमाडौं, बिरामी युवतीमाथि बलात्कार प्रयासको आरोप लागेका डाक्टर रोहित कुमार झालाई मेडिसिटी अस्पतालले निलम्बन गरेको छ। अस्पतालले आइतबार नै डाक्टर झालाई निलम्बन गरेको अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्।

‘उहाँका विषयमा हिजो आइतबार अस्पतालमा एक संस्थामार्फत गुनासो आएको थियो,’ उनले भनिन्, ‘त्यसपछि अस्पतालले उहाँलाई निलम्बन गरेको हो।’ पोखरेलका अनुसार डा झाले दुई महिना अघिबाट मात्र अस्पतालमा जागिर खान सुरु गरेका थिए।

डा झालाई उपचारका लागि आएकी एक युवतिमाथि बलात्कारको प्रयासको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार उपचारका लागि आइतबार अस्पताल पुगेकी युवतीले आफूमाथि डाक्टर रोहित कुमार झाले बलात्कार प्रयास गरेको भन्दै आज सोमबार उजुरी दिएपछि पक्राउ गरिएको हो।

एक संस्थामा आवद्ध ती युवती नियमित स्वास्थ्य उपचारका लागि अस्पताल पुगेकी थिइन्। प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।