पाटे बाघको छालासहित ६ जना पक्राउ
धादिङ ,पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ परेका छन्। पृथ्वीलोकमार्गस्थित गजुरी गाउँपालिका-२, चालिसेबाट धादिङ प्रहरीले एक थान पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको हो। पाटे बाघको छाला बेचबिखन गर्ने उद्देश्यले ओसारपसार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त प्रहरी टोली नै ग्राहक बनेर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालय धादिङका प्रहरी प्रमुख उपरीक्षक राजकुमार बैदवारले बताए।
चालिसेको वालसिङ भन्ने ठाउँमा प्रहरीले खानतलासी गर्दा बा.१८ प ९६९३ नम्बरको मोटरसाइकल चालक भाइराम प्रजा र सो मोटरसाइकलको पछाडि सवार राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाइछिपाई रोखेको अवस्थामा १ थान बाघको छाला फेला पेरेको बैदवारले बताए। चेकजाँचको क्रममा अन्य २ वटा मोटरसाइकलमा सवार चारजनाको मिलेमतोमा बेच्न हिँडेको अवस्थमा उनीहरू पक्राउ परेको बैदवाले जानकारी दिए।
पक्राउ पर्नेमा धादिङ जिल्लाको गजुरी गाउँपालिका-३ बस्ने ३८ वर्षीय भाइराम प्रजा, सोही स्थान बस्ने ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर बिक, गजुरी गाउँपालिका-४ बस्ने २५ वर्षीय आशिष तामाङ, बेनीघाट रोराङ गाउँपालिका-२ बस्ने ५७ वर्षीय सन्त तामाङ र बेनीघाट रोराङ गाउँपालिका-३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेका छन्।
उनीहरूको साथबाट ७ फिट २ इन्च लम्बाई, १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला १ थान, मोबाइल फोन ६ थान, बा.१८ प ९६९३, ग.७ प ५९६३ र ग.६ प १३४५ नम्बरको तीन थान मोटरसाइकल गरिएको जिल्ला पहरी कार्यालय धादिङले जनाएको छ। उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाएको प्रहरीले जानकारी दिएको छ।