व्यक्तिगत भावनालाई सम्बोधन गर्दा विकासमा बाधा- मुख्यमन्त्री शाही
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले व्यक्तिगत भावनालाई सम्बोधन गर्दा विकासमा बाधा पुगेको बताएका छन्। रिर्पोटर्स क्लब कर्णाली प्रदेशको प्रथम अधिवेशन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सत्तामा बस्नेले दिने र बाहिर बस्नेले माग्ने प्रवृत्तिका कारण सोचे जति प्रगति गर्न नसकिएको बताएका हुन्।

उनले सीमित श्रोत साधनको विकेन्द्रकीरणले चाहेजस्तो विकासले गति लिन नसकेको बताए। ‘कर्णालीमा जनशक्ति र स्रोत साधन कम भएको सबैलाई थाहा नै छ,’ मुख्यमन्त्री शाहीले भने, ‘ त्यही भएको सीमित स्रोत साधनको विकेन्द्रीकरण हुँदा चाहेजस्तो प्रगति गर्न नसकेको हो।’ कर्णाली आफैँमा गरिव नभई सोचाइमा गरिबी रहेको टिप्प्णी गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नबन्नुमा आत्मगत पक्ष कमजोर रहेको उल्लेख गरे।
सामूहिक प्रतिबद्घतका आधारमा अघि बढे मात्र कर्णालीबासीको विकास र समृद्घिको सपना साकार हुने बताउँदै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए। कर्णाली प्रदेशका खाली समस्या मात्रै नभई सुन्दर पक्षलाई पनि केलाउन मिडियाकर्मीलाई मुख्यमन्त्री शाहीले आग्रह गरे। मिडियाकर्मीलाई सिपाहीको भूमिका निर्भाह गर्न आग्रह गर्दै उनले राजनीतिक विषय मात्रै चर्चामा आउने गरेको भन्दै समाजको वास्तविक यथार्थलाई पनि केलाउन आग्रह गरेका हुन्।
‘मिडियामा खास गरी राजनीतिक कुराले बढी प्राथमिकता पाएको देख्छु, सामाजिक विषयलाई पनि महत्वका साथ उठाउनु पर्ने आवश्यक्ता देखिन्छ। मेरो मिडियाकर्मीलाई आग्रह छ’ उनले भने। कार्यक्रममा रिर्पोटर्स क्ल्व नेपालका अध्यक्ष ऋषि धमालाले रिर्पोटर्स क्लबले प्रत्येक वर्ष कर्णालीका दुईजना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरे।
कर्णालीमा पत्रकारिता गर्नु चुनौतिपूर्ण रहेको बताउँदै समृद्घिको अभियानमा लाग्न संचारकर्मीहरूलाई आग्रह गर्दै उत्कृष्ट पत्रकारिता गर्ने कर्णालीका दुईजना पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने धमलाले घोषणा गरेका हुन्। समाचार सम्प्रेषण गरेकै भरमा पत्रकारलाई जेल जरिवाना तिर्नुपर्ने बेलाको अन्त्य हुनु पर्ने उनको माग छ।

